रौतहट । पछिल्लो समय रौतहटका सामुदायिक विद्यालयमा अभिभावकको चासो बढ्दै गएको छ । आफ्ना छोराछोरीको पढाइसँगै अनुशासन, नियमित उपस्थिति, व्यवहार र विद्यालयका अतिरिक्त गतिविधिबारे जानकारी लिन अभिभावक आफैँ विद्यालय पुग्न थालेका छन् ।
केही वर्षअघिसम्म बालबालिकालाई विद्यालय पठाएपछि उनीहरूको शैक्षिक अवस्थाबारे बुझ्न विद्यालय जाने प्रवृत्ति न्यून रहे पनि अहिले अभिभावकले शिक्षकसँग नियमित संवाद गर्न थालेका छन् । यसले विद्यार्थीको सिकाइ र व्यवहारमा समेत सकारात्मक प्रभाव पारेको विद्यालयका शिक्षकहरू बताउँछन् ।
चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक वसन्त सापकोटाका अनुसार विद्यालयमा अंग्रेजी माध्यमबाट समेत पठनपाठन सुरु भएपछि अभिभावकको चासो अझ बढेको छ ।
उनका अनुसार अभिभावकले बालबालिकाको सिकाइ उपलब्धिसँगै उनीहरूको अनुशासन, साथीभाइसँगको व्यवहार, नियमित उपस्थिति र अतिरिक्त क्रियाकलापमा सहभागिताबारे समेत जानकारी लिन थालेका छन् । अभिभावकको निगरानी र चासो बढ्दा शिक्षक पनि थप जिम्मेवार बन्ने र शिक्षण सिकाइ प्रभावकारी हुने उनको भनाइ छ ।
चन्द्रपुर नगरपालिका–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयकी अभिभावक जया चौधरी महिनामा कम्तीमा एकपटक विद्यालय पुगेर छोरीको पढाइबारे जानकारी लिने गर्छिन् । उनका अनुसार बालबालिकालाई विद्यालय पठाउँदैमा अभिभावकको जिम्मेवारी पूरा हुँदैन ।
शिक्षकसँग नियमित भेटघाट गर्दा छोराछोरीका कमजोरी र राम्रो पक्षबारे जानकारी पाइने तथा घरमै आवश्यक सुधार गर्न सहज हुने चौधरी बताउँछिन् ।
त्यस्तै, गुजरा नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालयका शिक्षक विनोद यादवले अभिभावकको बढ्दो चासोले विद्यार्थीको नियमितता र अनुशासनमा सकारात्मक प्रभाव परेको बताए ।
उनका अनुसार शिक्षक र अभिभावकबीच नियमित संवाद हुँदा विद्यार्थीका समस्या समयमै पहिचान गर्न सकिन्छ । विद्यालयमा विद्यार्थीको व्यवहारमा आएको परिवर्तन तथा पढाइमा देखिएका कमजोरीबारे अभिभावकलाई जानकारी गराउन पनि सहज भएको उनले बताए ।
सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत नम्रता साहका अनुसार उनका आमाबुवा विद्यालयमै पुगेर पढाइबारे जानकारी लिने गर्छन् । गृहकार्य नगरेको वा पढाइमा ध्यान नदिएको कुरा अभिभावकले थाहा पाउने भएकाले आफूलाई पढाइप्रति थप जिम्मेवार बन्नुपर्ने महसुस हुने उनको भनाइ छ ।
जिल्लाका अधिकांश सामुदायिक विद्यालयले पनि अभिभावकको सहभागिता बढाउन अभिभावक भेटघाट, विद्यार्थीको प्रगति विवरण उपलब्ध गराउने तथा अतिरिक्त क्रियाकलापमा अभिभावकलाई सहभागी गराउने अभ्यासलाई प्राथमिकता दिन थालेका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइ रौतहटका प्रमुख नन्दकिशोर गुप्ताका अनुसार विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक मात्र सक्रिय भएर पुग्दैन । विद्यार्थीको सिकाइ सुधारमा विद्यालय, शिक्षक, अभिभावक र समुदायबीच निरन्तर सहकार्य आवश्यक हुने उनको भनाइ छ ।
अभिभावकले विद्यालयका गतिविधिमा चासो राख्ने र शिक्षकसँग नियमित संवाद गर्ने वातावरण बनेमा विद्यार्थीको शैक्षिक उपलब्धिसँगै अनुशासन र व्यवहारमा समेत सुधार ल्याउन सकिने शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् ।