सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यले देशभरका ठूला सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास योजना अघि बढाएको छ ।
उत्कृष्ट नतिजा हासिल गर्दै आएका र दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विस्तारको काम अघि बढाइएको हो । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार, चालु आर्थिक वर्षमा ती विद्यालयको भौतिक संरचना सुधार तथा विस्तारका लागि सरकारले कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
योजनाको पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको मन्त्री पोखरेलले जानकारी दिएका छन् । निकासा भएको रकमबाट विद्यालयमा आधुनिक १२ कोठे तीनतले भवन निर्माण गरिनेछ ।
प्रतिविद्यालय करिब ६ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त भवनमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था गरिनेछ । यसबाट विद्यार्थीका लागि सुरक्षित, व्यवस्थित र प्रभावकारी सिकाइ वातावरण निर्माण हुने अपेक्षा गरिएको छ ।
मन्त्री पोखरेलले केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको र कतिपय विद्यालयमा विद्यार्थी अभावको समस्या रहेको उल्लेख गर्दै विद्यालयबीचको असमानता कम गर्न पूर्वाधार सुधारको काम ठूला विद्यालयबाट सुरु गरिएको बताए ।
उनले आगामी दिनमा देशभरका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारलाई समान रूपमा सुदृढ बनाउँदै विद्यालयबीचको असमानता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्न शिक्षक, अभिभावक र विद्यार्थीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको रूपान्तरणका लागि सबै पक्षलाई सहकार्य र हातेमालो गर्न आह्वान गरेका छन् ।