वीरगञ्ज । हरि खेतान बहुमुखी कलेजले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
कलेज प्रमुख किशोरी रायको अध्यक्षतामा आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष डा। राम औतार खेतान प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष हरि गौतम, सल्लाहकार जयप्रकाश खेतान, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता थियो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित बीबीएस परीक्षामा नेपालभर तेस्रो स्थान हासिल गर्न सफल कलेजकी छात्रा अञ्जली कुमारी गुप्तालाई विशेष सम्मान गरिएको थियो। उनलाई ११ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, माला, खादा, टीका र मायाको चिनो प्रदान गरियो।
कलेज प्रमुख रायका अनुसार नेपालभरका ५५६ कलेजमध्ये हरि खेतान बहुमुखी कलेजले यस वर्ष बीबीएस परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै नेपालमै प्रथम स्थान प्राप्त गर्न सफल भएको छ। अञ्जलीको उपलब्धिले कलेजको शैक्षिक प्रदर्शनलाई थप बलियो बनाएको कलेजले जनाएको छ।
त्यस्तै, कलेजका विद्यार्थी अमित कुमार बर्णवाललाई इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) प्रवेश परीक्षामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मान गरिएको छ। उनले पहिलो प्रयासमै २१७औँ रैंक हासिल गर्दै पूर्ण छात्रवृत्ति प्राप्त गरेका थिए। उनलाई ५ हजार १ सय रुपैयाँसहित प्रमाणपत्र, खादा र टीका लगाएर सम्मान गरियो।
अतिरिक्त क्रियाकलापतर्फ लायन्स क्लबले आयोजना गरेको म्याराथनमा चौथो स्थान हासिल गरेकी सुशिला कुमारी तात्वा र तेस्रो स्थान प्राप्त गरेकी आशा कुमारी साहलाई पनि प्रमाणपत्र, खादा तथा टीका लगाएर सम्मान गरिएको थियो।
कार्यक्रममा कलेजका पदाधिकारीहरूले विद्यार्थीको मेहनत, अनुशासन र प्रतिभाले संस्थाको शैक्षिक पहिचान थप उचाइमा पुर्याएको बताए। विद्यार्थीलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट बन्न प्रोत्साहित गर्दै आगामी दिनमा प्रतिभाशाली विद्यार्थीलाई निरन्तर सहयोग र सम्मान गर्ने प्रतिबद्धता उनीहरूले व्यक्त गरे।
सम्मानित विद्यार्थीहरूले प्राप्त सम्मानले आफूहरूलाई थप मेहनत गर्न प्रेरणा मिलेको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कलेजले विद्यार्थीको उपलब्धिको सम्मान गर्दै आयोजना गरेको कार्यक्रमले अध्ययन तथा अतिरिक्त क्रियाकलापमा सक्रिय विद्यार्थीलाई थप उत्साहित बनाएको जनाएको छ।