रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान ९ बजेसम्मको विवरण अनुसार ८ जिल्लामा ९०३ वटा शव (मावन अंगसहित) फेला परेका हुन् ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन् । चितवनमा मात्रै २७२ वटा शव फेला परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार चितवनपछि नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ शव फेला परेका छन् ।
बाढीमा बगाएर दुई ६७ जना घाइते भएका छन् । घाइतेमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । प्रभावित क्षेत्रमा ६ वटा सर्जिकल मेडिकल टिम परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
विपद्का कारण करिब ४ हजार दुई सय ४७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सम्पर्कविहीनमध्ये जलविद्युत् आयोजनाबाट ९ सय ३३ जना, मकवानपुरमा ६५ जना, विदेशी नागरिक पाँच सय ९२ जना तथा विदेशी पर्यटकसँग घुम्न गएका नेपाली एक सय २७ जना छन् ।
त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जमा ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना सम्पर्कविहीन रहेको जनाइएको छ । सुरक्षा निकायतर्फ नेपाली सेनाका ४५ जना, प्रहरीका २५ जना, सशस्त्र प्रहरी बलका १३ जना अझै सम्पर्कविहीन छन् । त्यस्तै, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयबाट ३ जना, रसुवाबाट ८ सय ६५ जना र नुवाकोटबाट एक हजार पाँच सय ५८ जना सम्पर्क बिहीन रहेको प्राधिकरणले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट २० हजार ८ सय ११ जना खटिएका छन् । हालसम्म नेपाली सेनाल हवाईमार्फत विदेशी नागरिक दुई सय ५२ जना, नेपाली तीन हजार तीन सय ४४ को उद्धार गरेको छ । प्रभावित क्षेत्रमा सेना र निजीगरि चार सय ११ पटक हवाई उडान भएको प्राधिकरणले जनाएको छ । हालसम्म स्वदेशी र विदेशीगरि १० हजार चार सय ५१ जनाको उद्धार भएको छ ।
राहत सामग्री पुर्याउन ३७ वटा ट्रक र ३५ वटा बोलेरोमार्फत प्रभावित क्षेत्रमा खाद्यान्न तथा गैरखाद्य सामग्री पठाइएको छ । हेलिकोप्टरबाट समेत ८वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ ।
भदौ १४ गते रसुवा जिल्लाका लागि स्थलमार्ग एवं हवाईमार्गबाट पोर्टेबल जेनेरेटरसहित खाद्य तथा गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाइएको छ । नुवाकोटमा १६ वटा सवारीसाधन तथा हेलिकोप्टरमार्फत राहत सामग्री परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
बाढी तथा विपद्बाट प्रभावित रसुवा, नुवाकोट र धादिङका लागि नेपाल सरकारले नगद राहतसमेत उपलब्ध गराएको छ । विवरणअनुसार रसुवा र नुवाकोटलाई एक–एक करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ । यसैगरी प्रभावित १५ स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ राहत उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।
प्रभावित क्षेत्रमा इन्धनको मौज्दातसमेत व्यवस्थापन गरिएको छ । हाल डिजेल २५ हजार लिटर, पेट्रोल २१ हजार लिटर र हवाई इन्धन १० हजार लिटर मौज्दात रहेको जनाइएको छ ।
पहिचान नखुलेका शव २१ अस्पतालमा
बाढी तथा विपद्का घटनामा मृत्यु भएका तर पहिचान खुल्न नसकेका शव विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ । पहिचान खुल्न नसकेका शवको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीको सम्बन्धित माध्यमबाट सार्वजनिक गरिएको जनाइएको छ ।