काठमाडौं । प्रधानमन्त्री बालेन शाहले कानुनी र वैज्ञानिक आधारमा तत्काल पहिचान हुन नसकेका शवलाई जमिनमुनि व्यवस्थापन गरिएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले डीएनए परीक्षणबाट पहिचान खुलेपछि ती शव सम्बन्धित परिवारलाई जिम्मा लगाइने स्पष्ट पारे।
प्रधानमन्त्री शाहले पहिचान भएपछि परिवारले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार अन्तिम संस्कार गर्न सक्ने बताए। उनले शव व्यवस्थापनका विषयमा अनावश्यक भ्रममा नपर्न पनि आग्रह गरे।
‘पहिचान भएपछि उहाँहरूले आ–आफ्नो धर्म, संस्कृति अनुसार अन्तिम संस्कार गर्नुहुने नै छ। त्यसैले यस विषयमा भ्रममा नपर्न सबैलाई अनुरोध पनि गर्न चाहन्छु,’ उनले भने।
प्रधानमन्त्री शाहले ठूलो विपद्का बेला अन्तर्राष्ट्रिय सहयोग लिनु स्वाभाविक भएको बताए। प्रभावित क्षेत्रमा आवश्यकताअनुसार सहयोग लिन सरकार सुरुदेखि नै अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वयमा रहेको उनको भनाइ छ।
‘प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन सुरुदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौँ। प्रक्रिया समेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौँ,’ उनले भने।
उनका अनुसार मित्रराष्ट्र चीन र भारतबाट समेत प्राविधिक टोली तथा विज्ञहरू प्रभावित क्षेत्रमा परिचालन भएका थिए।
प्रधानमन्त्री शाहले विपद्को समयमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच आवश्यक समन्वय गरी उद्धार, राहत तथा व्यवस्थापनका काम अघि बढिरहेको पनि बताए।