एजेन्सी, भदौ १७ । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका क्रममा इरानको दक्षिणी होर्मोजगान प्रान्तमा भएको आक्रमणपछि चार जनाको मृत्यु भएको दाबी गरिएको छ। इरानी रेड क्रिसेन्टका अनुसार घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन्।
सिरिक काउन्टीको कुहेस्तक क्षेत्रमा रहेको एक आवासीय भवनलाई लक्षित गरी मिसाइल प्रहार गरिएको र त्यसबाट छुटेका टुक्रा नजिकै सञ्चालन भइरहेको विवाह समारोहस्थलमा खसेको जनाइएको छ। घटनामा एक बालकसहित चार जनाको ज्यान गएको रेड क्रिसेन्टले जनाएको छ।
घटनापछि स्थानीय अधिकारीहरूले प्रारम्भमा मृतकको संख्या दुई जना रहेको बताएका थिए। घाइतेहरूको उपचार तथा घटनास्थलमा उद्धारको काम अघि बढाइएको जनाइएको छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले भने सेप्टेम्बर १ मा इरानका विभिन्न सैन्य संरचनामाथि कारबाही गरिएको पुष्टि गरेको छ। सेन्टकमका अनुसार इरानी इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)का हवाई प्रतिरक्षा प्रणाली, रडार, समुद्री सैन्य संरचना, सञ्चार केन्द्र तथा बारुदी सुरुङ बिछ्याउने क्षमतासँग सम्बन्धित संरचनालाई लक्षित गरिएको थियो।
अमेरिकी कारबाहीपछि इरानले पनि जवाफी हमला गरेको दाबी गरेको छ। आईआरजीसीले जोर्डनमा रहेको अमेरिकी प्रिन्स हसन एयर बेसलाई ब्यालिस्टिक मिसाइलबाट निशाना बनाएको जनाएको छ।
इरानी सञ्चारमाध्यमले उक्त सैन्य कारबाहीका क्रममा अमेरिकी ड्रोनसँग सम्बन्धित संरचनामा क्षति पुगेको दाबी गरेका छन्। केही ड्रोन नष्ट भएको र अमेरिकी सैन्य तथा प्राविधिक जनशक्तिमा समेत क्षति पुगेको आईआरजीसीको दाबी छ। यद्यपि, यी दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
यसैबीच होर्मुज जलडमरूमध्य आसपासका केशम द्वीप, बन्दर अब्बास र चाबहार क्षेत्रमा पनि विस्फोटका घटना भएको खबर सार्वजनिक भएका छन्।
अमेरिका र इरानबीच लगातार सैन्य कारबाही तथा जवाफी हमलाको क्रम बढेपछि पश्चिम एसियामा तनाव थप गहिरिएको छ। पछिल्ला घटनाक्रमले क्षेत्रीय द्वन्द्व अझ व्यापक बन्न सक्ने चिन्ता बढाएको छ।