भारतको बिहारस्थित मोतिहारीमा दुई ट्रक एकआपसमा ठोक्किँदा दुवै ट्रकमा भीषण आगलागी भएको छ। दुर्घटनामा दुवै ट्रकका चालक र सहचालक गरी चार जना गम्भीर घाइते भएका छन् ।
घटना जिल्लाको पिपराकोठी थाना क्षेत्रअन्तर्गत मठबनवारी नजिक भएको हो । स्थानीयका अनुसार सडक किनारमा गिट्टी बोकेको ट्रक रोकिराखिएको अवस्थामा तीव्र गतिमा आएको टायल्स बोकेको अर्को ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि दुवै ट्रकमा एक्कासि आगलागी भएको थियो । आगो केही समयमै नियन्त्रणबाहिर पुग्दा दुवै ट्रक आगोको गोलामा परिणत भएका थिए ।
दुर्घटनापछि स्थानीयवासीले जोखिम मोलेर ट्रकभित्र फसेका चालक तथा सहचालकलाई लामो प्रयासपछि बाहिर निकालेका थिए । घाइते चारै जनालाई उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ । आगलागी नियन्त्रणमा लिन दमकलको टोलीलाई घण्टौँसम्म मेहनत गर्नुपरेको थियो। आगोको लप्का निकै ठूलो भएकाले घटनास्थल आसपास त्रासको वातावरण सिर्जना भएको थियो ।
दुर्घटनापछि सडकमा ठूलो जामसमेत भएको थियो। स्थानीय प्रहरीको सक्रियतामा लामो प्रयासपछि सडकमा भएको जाम सामान्य बनाइएको जनाइएको छ।
घटनाबारे पिपराकोठी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।