काठमाडौँ, भदौ १८ गते । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा खसेको पहिरो हटाउने काम तीव्र पारिएको छ। सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउने उद्देश्यले आवश्यक जनशक्ति तथा निर्माण उपकरण परिचालन गरिएको छ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै पहिरो पन्छाउने कामलाई तीव्रता दिइएको हो। पहिरोको दुवैतर्फ गरी १८ जना जनशक्ति परिचालन गरेर सडकमा ढलेका रुख तथा अवरोध हटाउने काम भइरहेको छ।
पहिरो हटाउन आवश्यक निर्माण उपकरण पनि सडकको दुवैतर्फ तयारी अवस्थामा राखिएको जनाइएको छ। रुख कटानको काम सकिएलगत्तै उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिनेछ।
सडकलाई सकेसम्म छिटो सञ्चालनमा ल्याउन जनशक्ति र उपकरणको प्रभावकारी परिचालन गर्दै कामलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ।