काठमाडौँ, भदौ १८ गते । भोटेकोशी बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएको छ। प्रभावित क्षेत्रबाट बुधबार बिहान ११ बजेसम्म हवाई माध्यमबाट छ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
लाङटाङ हाइड्रोपावर क्षेत्रमा विदेशी नागरिकसहित २५ जनाको संयुक्त टोलीले टनेलभित्र प्रवेश गरी खोजी गरिरहेको छ। टोलीले टनेलभित्र करिब १५० मिटरसम्म पुगेर दुई स्थानमा साना प्वाल बनाएर सम्भावित अवस्थाबारे खोजी गरिरहेको जनाएको छ। चिलिमे हाइड्रोपावर क्षेत्रमा पनि संयुक्त टोली परिचालन गरी खोज तथा उद्धार जारी राखिएको छ।
त्रिशूली–१ आयोजनामा ९३ जनाको संयुक्त टोलीले पाँचवटा एक्साभेटरको प्रयोग गरेर टनेलको आउटलेटमा जम्मा भएको माटो, लेदो तथा अन्य अवरोध हटाउने काम गरेको छ। टनेलको प्रवेशमार्ग फराकिलो बनाउन ब्लास्टिङमार्फत सफाइको कामसमेत अघि बढाइएको सेनाले जनाएको छ।
त्रिशूली–२ आयोजनामा नेपाली सेनाका ८९ जना, तीन जना गैरसैनिक कर्मचारी तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोली परिचालन भएको छ। टोलीले आयोजनाको कार्यालय तथा आवास क्षेत्र पहिचान गरी त्यहाँ पुग्ने बाटो निर्माण गरिरहेको छ। एक्साभेटर प्रयोग गरेर बाटो खन्ने र अवरोध हटाउने कार्य भइरहेको छ।
बाढी प्रभावित जङ्गल, डाँडाकाँडा, खोला तथा बस्ती क्षेत्रमा स्थानीयवासीलाई सुरक्षित राख्दै आवश्यक उद्धार र स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। चिकित्सकसहितको टोलीले पैदल गस्ती गर्दै प्रभावित स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरेको सेनाले जनाएको छ।
त्रिशूली नदीको पारिपट्टि कोलोनीदेखि तुप्चे र सोले बजारलगायत नुवाकोटका विभिन्न क्षेत्रमा पनि खोजी तथा उद्धार कार्य जारी छ। स्याफ्रुबेँसी क्षेत्रमा समेत नेपाली सेना र अन्य सुरक्षा निकायको संयुक्त टोलीले सम्भावित जोखिम क्षेत्रहरूमा खोजी गरिरहेको छ।
यसैगरी, सम्भावित सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै चिकित्सकहरूले नुवाकोटको पिपलटार र देवघाटस्थित होल्डिङ सेन्टरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्मका बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३०० भन्दा बढी फौज परिचालन गरिएको छ। उनीहरू घाइते तथा बेपत्ताको खोजी, उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आकस्मिक स्वास्थ्य उपचारलगायतका काममा खटिएका छन्।
यसैबीच प्रधानसेनापति महारथी अशोकराज सिग्देलले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी नेपाली सेना तथा अन्य निकायबाट सञ्चालन भइरहेका खोज तथा उद्धार गतिविधिबारे जानकारी लिनुभएको छ।
उहाँले त्रिशूली नदी, विभिन्न टनेल तथा प्रभावित क्षेत्रको निरीक्षण गर्दै उद्धारमा संलग्न सबै निकायबीच प्रभावकारी समन्वय र सहकार्य कायम राख्न निर्देशन दिनुभएको छ। प्रधानसेनापति सिग्देलले सेनाका सकल दर्जालाई उच्च मनोबलका साथ उद्धार तथा राहत कार्यमा निरन्तर खटिनसमेत निर्देशन दिनुभएको छ।