नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानको रक्षा र नागरिकका संवैधानिक अधिकारको पूर्ण कार्यान्वयनका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यक रहेको बताएका छन् ।
शनिबार वीरगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपालले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, सङ्घीयता, समावेशिता लगायतका संवैधानिक उपलब्धिको संरक्षणका लागि राजनीतिक दलहरूबीच एकता, सहकार्य र समन्वय आवश्यक रहेको बताए ।
‘संविधान सामान्य परिवर्तनबाट आएको होइन, अहिलेको संविधानको रक्षा गर्न राजनीतिक दलबीच एकता, सहकार्य र समन्वय आवश्यक छ,’ उनले भने, ‘जनतालाई सुशासनसहितको सेवा प्रवाहमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन ।’
नेपालले आदिवासी, महिला, जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रलगायत सीमान्तकृत समुदायका संवैधानिक अधिकारको संरक्षण गर्नु सबैको दायित्व रहेको बताए ।
पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा रहेकाले जनताको चाहना र आवश्यकताअनुसार सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्ने धारणा राखे ।
यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सरकारले थप तीव्रता दिनुपर्ने उनको भनाइ छ । देश विपद्को अवस्थामा रहेकाले उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालन गर्दै उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।
‘देश अहिले विपत्तिमा छ । हिमाली बाढीका कारण ठूलो जनधनको क्षति भएको छ,’ नेपालले भने, ‘खोजी कार्यमा सरकारले उपलब्ध स्रोतसाधनसँगै विभिन्न सङ्घसंस्था तथा राजनीतिक दललाई समेत उद्धार र राहतमा परिचालन गर्न सक्नुपर्छ ।’
यसैगरी, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत नेपालले गरे। घटनाको वास्तविकता बाहिर ल्याउन निष्पक्ष छानबिन आवश्यक रहेको उनको भनाइ थियो ।