छठ पर्व नजिकिएसँगै भारतको बिहारस्थित रक्सौल बजारमा चहलपहल बढेको छ । छठ पर्वका लागि आवश्यक पूजासामग्री, लत्ताकपडा, घरायसी सामान तथा अन्य सामग्री खरिद गर्न नेपाली उपभोक्ताहरू सीमापारि रक्सौल पुग्न थालेपछि बजारमा भीडभाड बढेको हो ।
छठ पर्वलाई लक्षित गर्दै रक्सौल बजारमा किनमेल गर्ने ग्राहकको संख्या बढेको छ । बजारका पसलहरूमा बिहानैदेखि ग्राहकको चहलपहल देखिन्छ भने सडकमा सवारीसाधन र पैदल यात्रुको भीडका कारण जामसमेत बढेको छ।
वीरगंजभन्दा रक्सौलमा कतिपय सामान सस्तो मूल्यमा पाइने भएकाले नेपाली उपभोक्ताहरू किनमेलका लागि रक्सौल पुग्ने गरेको स्थानीय व्यापारी तथा उपभोक्ताहरू बताउँछन् । विशेषगरी पर्वको समयमा आवश्यक पर्ने सामान खरिद गर्न सीमावर्ती बजारमा नेपाली ग्राहकको आकर्षण बढ्ने गरेको छ ।
रक्सौल बजारमा भेटिएका स्थानीय व्यापारी तथा उपभोक्ताहरूका अनुसार चाडपर्वको समयमा बजारमा मेला लागेजस्तै रौनक देखिने गरेको छ । ग्राहकको चहलपहल बढ्दा व्यापारीहरू पनि उत्साहित भएका छन् । उनीहरूका अनुसार चाडपर्वले व्यापार व्यवसायलाई चलायमान बनाउनुका साथै व्यापारीहरूको आम्दानी बढाउन सहयोग पुर्याउँछ ।
एक स्थानीयले छठ पर्व नजिकिएसँगै रक्सौल बजारमा निकै रौनक बढेको प्रतिक्रिया दिए । उनका अनुसार चाडपर्वको समयमा बजारमा भीडभाड र सवारी जाम हुनु स्वाभाविक भए पनि यसले व्यापारिक गतिविधि बढेको संकेत गर्छ ।
त्यस्तै, केही उपभोक्ताले वीरगंजको तुलनामा रक्सौलमा सामान सस्तो पर्ने भएकाले आफूहरू किनमेलका लागि आउने गरेको बताए । उनीहरूका अनुसार मूल्यसँगै सामानको गुणस्तर र उत्पादनको देशमा पनि केही भिन्नता पाइन्छ। वीरगञ्जमा चिनियाँ सामान बढी पाइने गरेको र रक्सौलमा भारतीय उत्पादनका सामान बढी उपलब्ध हुने उनीहरूको अनुभव छ ।
यद्यपि, चाडपर्वको समयमा रक्सौल बजारमा बढ्ने भीडभाड र सवारी जामले उपभोक्तालाई केही असहजता पनि थपेको छ । तर व्यापारिक चहलपहल र सस्तो सामानको आकर्षणका कारण नेपाली ग्राहकहरूको आवागमन भने बढिरहेको छ ।
छठ पर्वको तयारीसँगै सीमापारि रक्सौल बजारमा देखिएको यो चहलपहलले सीमावर्ती क्षेत्रको व्यापारिक सम्बन्ध र नेपाली उपभोक्ताको किनमेल प्रवृत्तिलाई समेत उजागर गरेको छ ।