वीरगंज महानगरपालिका–१५ स्थित भिस्वा डाँडा कुनै समय आन्तरिक पर्यटक तथा स्थानीय बासिन्दाको आकर्षक गन्तव्यका रूपमा परिचित थियो । शान्त वातावरण, मन्दिर तथा भगवान् गौतम बुद्धका मूर्तिहरूले सजिएको यस स्थलमा विशेषगरी बुद्ध जयन्तीका अवसरमा ठूलो संख्यामा श्रद्धालु तथा पर्यटक पुग्ने गर्थे ।
भिस्वा डाँडा बिहानको समयमा मर्निङ वाक गर्नेहरूका लागि पनि लोकप्रिय स्थल थियो। शान्त र रमणीय वातावरणका कारण स्थानीयवासीले यसलाई घुमफिर तथा मनोरञ्जनका लागि उपयुक्त स्थानका रूपमा लिने गरेका थिए ।
तर, समयसँगै यस पर्यटकीय स्थलको आकर्षण र चहलपहल घट्दै गएको स्थानीयहरूको भनाइ छ । कुनै समय पर्यटकको भीड लाग्ने र धार्मिक तथा पर्यटकीय गतिविधि हुने भिस्वा डाँडाको वर्तमान अवस्था, संरक्षण तथा व्यवस्थापनका विषयमा विभिन्न प्रश्न उठ्न थालेका छन् ।
यस स्थलको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्वलाई जोगाउँदै आवश्यक पूर्वाधार विकास, सरसफाइ र उचित व्यवस्थापन गर्नुपर्ने स्थानीयको अपेक्षा छ ।
भिस्वा डाँडाको वर्तमान अवस्था कस्तो छ ? यहाँका स्थानीयका गुनासा के छन् ? यसको संरक्षण र पर्यटकीय विकासका लागि सम्बन्धित निकायले के गर्नुपर्छ ? यसै विषयमा स्थानीयवासीसँग गरिएको कुराकानी र उनीहरूको धारणा प्रस्तुत गर्दैछौँ ।