वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा १८ दिने नवजात शिशुको मृत्यु भएपछि अस्पताल परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।
चिकित्सक तथा नर्सको चरम लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाउँदै पीडित परिवार र आफन्तले अस्पताल प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले अस्पतालको मुख्य गेट बन्द गरी दोषी चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।
घटनापछि आक्रोशित आफन्त तथा स्थानीयको भीड अस्पताल परिसरमा जम्मा भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जीवबाबु खड्काका अनुसार शिशुको मृत्युको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग राख्दै आफन्तहरू आन्दोलनमा उत्रिएका हुन् ।
उनका अनुसार घटनालाई नियन्त्रणमा लिन तथा पीडित पक्षसँगको विवाद समाधान गर्न अस्पताल प्रशासन र सुरक्षाकर्मीबीच छलफल भइरहेको छ ।
शिशुको मृत्युको वास्तविक कारणबारे भने निष्पक्ष छानबिन हुन बाँकी छ । पीडित परिवारले चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीलाई मृत्युको कारण दाबी गरिरहँदा अस्पताल प्रशासनको आधिकारिक धारणा सार्वजनिक भएको छैन ।