किर्तिपुरमा ल्याब स्कुलको मैदानमा शनिबार सम्पन्न नेपथ्य ब्यान्डको कन्सर्टमा आठ हजारभन्दा बढी दर्शक सहभागी भएका छन् ।
नेपथ्यका लोकप्रिय गीतमा झुम्दै सङ्गीतप्रेमीले कन्सर्टको भरपूर आनन्द लिएका छन् । कन्सर्टका सबै टिकट अग्रिम बिक्री भइसकेका थिए। टिकट किन्न नपाएपछि धेरै युवा दर्शक निराश हुँदै फर्कनुपरेको थियो । कीर्तिपुर नेपथ्य ब्यान्डको प्रारम्भिक सङ्गीत यात्रासँग जोडिएको ऐतिहासिक स्थान हो। साढे तीन दशकअघि त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी विभागका विद्यार्थीको निमन्त्रणामा ब्यान्डले यहाँस्थित अडिटोरियम हलमा दुईवटा गितारको सहयोगमा अकोस्टिक कन्सर्ट गरेको थियो। शनिबार ब्यान्डले सोही स्थानमा परिपक्व प्रस्तुतिसहित दर्शकमाझ आफ्नो सङ्गीत यात्रा दोहोर्याएको हो ।
कन्सर्टका क्रममा मुख्य गायक अमृत गुरुङले विश्वविद्यालयमा अध्ययन गर्दाको समय स्मरण गर्दै नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न आग्रह गरे। कर्णालीको ‘कर्नालीका छाइला’ गीत प्रस्तुत गर्नुअघि उनले नेपाली भाषाको उद्गमस्थलका रूपमा परिचित सिँजा उपत्यकाको चर्चा गर्दै भने, “भाषा रहे भाका रहन्छ, यो नेपाली भाषालाई सबै मिलेर बचाऔँ है।।।।”
कन्सर्टमा सबै उमेर समूहका दर्शकको उपस्थिति थियो। त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक प्रेम खनालले नेपथ्यको सङ्गीतले संसारलाई जोड्ने काम गरिरहेको बताए। दर्शक प्रविन रानाभाट र रेश्मा शाक्यले पनि सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो साझा गर्दै कन्सर्टबाट अद्भुत ऊर्जा र आनन्द प्राप्त भएको उल्लेख गरेका थिए । गायक अमृत गुरुङले मुलुकले भोगिरहेको प्राकृतिक विपत्तिको प्रसङ्ग उठाउँदै प्रभावित समुदायलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आह्वान गरे ।
मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, किबोर्डमा दिनेशराज रेग्मी र मादलमा सुन्दर महर्जनले साथ दिएका थिए। राष्ट्रिय ध्वजाको महिमा गाउने ‘रातो र चन्द्रसुर्जे’ गीत प्रस्तुत गर्दै कन्सर्ट समापन गरिएको थियो ।
नेपथ्यको आगामी सङ्गीत यात्रा
नेपथ्यले दसैँलगत्तै अक्टोबर ३१ अर्थात् कात्तिक १४ गते भारतको सिक्किमस्थित पाल्जोर स्टेडियममा कन्सर्ट गर्ने कार्यक्रम तय गरेको छ । त्यसपछि कात्तिक १८ गते इटहरी र कात्तिक २१ गते झापाको चारआलीमा ब्यान्डले प्रस्तुति दिनेछ ।
तिहारपछि नेपालका चार साना तथा मझौला सहरमा कार्यक्रम गरेपछि नेपथ्य अस्ट्रेलिया भ्रमणमा जानेछ। भ्रमणअन्तर्गत डिसेम्बर ७ मा एडिलेडबाट सुरु हुने कन्सर्ट शृङ्खला डिसेम्बर २७ मा पर्थमा पुगेर समापन हुनेछ। यी कन्सर्टका लागि नेपालयको आधिकारिक वेबसाइटमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।