बाराको परवानीपुर गाउँपालिकामा सर्पले डस्दा १० वर्षीया बालिकाको मृत्यु भएको छ। परवानीपुर गाउँपालिका ५ नौतनटोल निवासी मनोज साहकी छोरी सन्झना कुमारीको सर्पदंशबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी बाराका अनुसार कात्तिक १ गते राति ११ः५५ बजे आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा उहाँलाई नाम नखुलेको सर्पले डसेको थियो ।
सर्पले डसेपछि बिरामी भएकी बालिकालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएकोमा चिकित्सकले स्वास्थ्य परीक्षण तथा ईसीजी चेकजाँच गर्दा आज बिहान १२ बजेर २९ मिनेटमा मृत घोषणा गरेको बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस घटनाबारे बिशेष रुपमा जानकारी लिन इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी सहायक निरीक्षक रामबालक साहको नेतृत्वमा प्रहरी टोली खटाइएको उहाँले बताउनुभयो ।
यसरी घरमै सुतिरहेको अवस्थामा सर्पले डसेपछि बालिकाको मृत्यु भएको घटनाले सर्पदंशबाट हुने जोखिमप्रति पुनः प्रहरीले सबैमा ध्यानाकर्षण गराएको छ।
विशेषगरी ग्रामीण क्षेत्रमा सर्पदंशको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सुत्ने स्थान सुरक्षित राख्न तथा सर्पले डसेको आशंका भएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुर्याउन प्रहरीले सबैमा आग्रह गरेको छ।