बाराको परवानीपुर गाउँपालिकामा सर्पले डस्दा १० वर्षीया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा परवानीपुर गाउँपालिका–५, नौतनटोल निवासी मनोज साहकी छोरी सन्झना कुमारी रहेकी छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा बालिकालाई नाम नखुलेको सर्पले डसेको थियो ।
सर्पदंशबाट बिरामी भएकी बालिकालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले स्वास्थ्य परीक्षण तथा ईसीजी जाँच गरेपछि उनलाई मृत घोषणा गरिएको बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो ।
घटनाबारे थप जानकारी लिन इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी सहायक निरीक्षक रामबालक साहको नेतृत्वमा प्रहरी टोली खटाइएको पनि उहाँले बताउनुभयो ।
घरमै सुतिरहेको अवस्थामा सर्पले डसेपछि बालिकाको मृत्यु भएको यस घटनाले सर्पदंशको जोखिमप्रति सचेत रहनुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ ।
विशेषगरी ग्रामीण क्षेत्रमा सर्पदंशको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सुत्ने स्थान सुरक्षित राख्न तथा सर्पले डसेको आशंका भएमा ढिलाइ नगरी नजिकैको स्वास्थ्य संस्थामा पुर्याउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।
भिडियाे रिपाेर्ट