नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स दोस्रो सिजनमा भने एक खेलमा मात्रै जित निकाल्दै अन्तिम स्थानमा सीमित भयो । पहिलो सिजनको उपाधि र दोस्रो सिजनको कमजोर प्रदर्शनबीच ठूलो अन्तर देखिएको जनकपुर अहिले तेस्रो सिजनमा पुनरागमन गर्ने लक्ष्यसहित टोली पुनर्निर्माणमा जुटेको छ ।
मधेश प्रदेशको प्रतिनिधित्व गर्ने जनकपुरले सुरुवाती दुई सिजनमै ठूलो उतारचढाव बेहोरेको छ। मार्की खेलाडीलाई कप्तान नबनाउने, मार्की खेलाडीलाई नै टोलीबाट रिलिज गर्ने र विदेशी खेलाडीलाई कप्तानको जिम्मेवारी दिने निर्णयले जनकपुरलाई अन्य टोलीभन्दा फरक बनाएको छ ।
पहिलो संस्करणमा विकेटकिपर ब्याटर आसिफ शेख मार्की खेलाडी भए पनि जनकपुरले अनिल शाहलाई कप्तान बनाएको थियो। पहिलो सिजनमा लिग चरणमा दोस्रो भएको जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । तर दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउँदै फाइनल पुगेको जनकपुरले फाइनलमा सुदूरपश्चिमलाई नै पराजित गर्दै पहिलो संस्करणको उपाधि जितेको थिय ।
दोस्रो सिजनमा भने जनकपुरको प्रदर्शन खस्कियो । टोलीले कप्तान परिवर्तन गर्नेदेखि खेलाडीलाई बेन्चमा राख्नेसम्मका निर्णय गर्यो । त्यसपछि तेस्रो सिजनका लागि जनकपुरले राष्ट्रिय टोलीका विकेटकिपर ब्याटर तथा मार्की खेलाडी आसिफ शेखलाई नै रिलिज गर्ने निर्णय लियो ।
आसिफको स्थानमा स्पिनर ललित राजवंशीलाई नयाँ मार्की खेलाडी बनाइएको छ । जनकपुरले अनिल शाह, ललित राजवंशी, मयन यादव, आदित्य महता र विकास आग्रीलाई मात्र रिटेन गरेको छ ।
रिटेन र अक्सनमा फेरियो टोलीको स्वरूप
दोस्रो सिजनमा जनकपुरले सात खेलाडीलाई रिटेन गरेको थियो। तेस्रो सिजनमा भने अघिल्लो टोलीबाट पाँच खेलाडीलाई मात्र निरन्तरता दिइएको छ । जनकपुरले आसिफ शेखसँगै किशोर महतो, रुपेश सिंह र शुभ कंशाकारजस्ता खेलाडीलाई पनि रिलिज गरेको छ ।
पहिलो सिजनको उपाधिपछि जनकपुरले युवा बलर शेर मल्ल र हेमन्त धामीलाई रिलिज गरेको थियो। दोस्रो सिजनमा शेरले लुम्बिनीबाट खेल्दै लगातार दोस्रो एनपीएल उपाधि जिते भने हेमन्तले सुदूरपश्चिम रोयल्सबाट खेल्दै राम्रो प्रदर्शन गरेका थिए ।
तेस्रो सिजनका लागि जनकपुरले अक्सनबाट आठ खेलाडी अनुबन्ध गरेको छ। टोलीले तृतराज दासलाई १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । त्यस्तै अभिषेक तिवारी, विशाल पटेल, अमरसिंह रौटेला, रित गौतम, सन्तोष कार्की, आशुतोष पाण्डे र विशाल सुस्लिङलाई टोलीमा समेटेको छ ।
यसपटक जनकपुरले ब्याटिङमा विकल्प बढाउने प्रयास गरेको देखिन्छ । तर मुख्य मिडियम पेसरहरूलाई रिलिज गरेको टोलीले अक्सनबाट पनि विशेषज्ञ तीव्र गतिका बलर भित्र्याउन सकेको छैन । यही कमजोरी तेस्रो सिजनमा टोलीका लागि चुनौती बन्न सक्छ ।
हर्मीत नयाँ कप्तान, नीशमको पुनरागमन
घरेलु खेलाडी र मार्की परिवर्तन गरेको जनकपुरले विदेशी खेलाडी छनोटमा भने अनुभवी खेलाडीलाई प्राथमिकता दिएको छ। टोलीले अमेरिकाका स्पिन बलिङ अलराउन्डर हर्मीत सिंहलाई अनुबन्ध गर्दै कप्तानको जिम्मेवारी दिएको छ । हर्मीतले अघिल्ला दुई सिजन सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए ।
पहिलो सिजन जनकपुरलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि टोलीमा फर्किएका छन् । त्यस्तै इंग्ल्यान्डका अनुभवी अलराउन्डर मोइन अली र पाकिस्तानका अनुभवी ब्याटर इफ्तिखार अहमदलाई पनि जनकपुरले अनुबन्ध गरेको छ।
यी चार विदेशी खेलाडीमध्ये हर्मीत, नीशम र मोइन अलीले ब्याटिङसँगै बलिङमा योगदान दिन सक्छन् । इफ्तिखारले मध्यक्रमको ब्याटिङलाई मजबुत बनाउने अपेक्षा गरिएको छ। हर्मीत र मोइन अलीको उपस्थितिले टोलीको स्पिन बलिङ पनि बलियो देखिन्छ ।
विकेटकिपिङतर्फ आसिफ शेखको अनुपस्थितिमा अनिल शाह प्रमुख विकल्प हुनेछन् । अक्सनबाट अनुबन्धित सन्तोष कार्की पनि विकेटकिपरका रूपमा विकल्पमा छन्। तर उनले प्लेइङ सेटमा कति अवसर पाउँछन् भन्ने हेर्न बाँकी छ ।
ब्याटिङ र स्पिन बलिङ बलियो, पेस बलिङमा प्रश्न
जनकपुरको ब्याटिङमा अनिल शाह र मयन यादव टप अर्डरका विकल्प हुन् । रित गौतम र सन्तोष कार्की पनि उपलब्ध छन्। मध्यक्रममा तृतराज दाससँगै मोइन अली, जिमी नीशम, इफ्तिखार अहमद र हर्मीत सिंहजस्ता खेलाडी छन्। आवश्यकताअनुसार मोइन अलीले ओपनिङसमेत गर्न सक्छन्।
स्पिन बलिङमा नयाँ मार्की ललित राजवंशी, आदित्य महता, हर्मीत सिंह र मोइन अली उपलब्ध छन्। यसले जनकपुरलाई स्पिन विभागमा पर्याप्त विकल्प दिन्छ।
तर तीव्र गतिका बलरको सवालमा टोली कमजोर देखिन्छ। विकास आग्री र अमरसिंह रौटेला पेस बलिङ अलराउन्डर भए पनि उनीहरू दुवै नियमित पहिलो रोजाइका बलर बन्ने निश्चित छैन। नीशमले मिडियम पेस बलिङ गर्न सक्ने भए पनि विशेषज्ञ फास्ट बलरको अभाव पूर्ति गर्न थप खेलाडी आवश्यक देखिन्छ ।
टोलीको ब्याटिङ र स्पिन बलिङमा विकल्प भए पनि पेस बलिङको कमजोरीले समग्र सन्तुलनमा असर पार्न सक्छ । बाँकी विदेशी खेलाडी छनोट गर्दा जनकपुरले यो पक्षलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।
तेस्रो सिजनमा जनकपुरको परीक्षा
जनकपुर बोल्ट्सले तेस्रो सिजनका लागि खेलाडी छनोटमा ठूलो परिवर्तन गरेको छ। अनुभवी विदेशी खेलाडीको आगमन, नयाँ कप्तान र बलियो स्पिन विभाग टोलीका सकारात्मक पक्ष हुन्। तर मार्की खेलाडी परिवर्तन, घरेलु खेलाडीको फेरबदल र विशेषज्ञ पेस बलरको अभावले टोलीको प्रदर्शनबारे प्रश्न पनि उठाएको छ ।
पहिलो सिजनको च्याम्पियन जनकपुरले दोस्रो सिजनको निराशाजनक नतिजा बिर्साएर फेरि उपाधि दाबेदार बन्न सक्छ कि सक्दैन भन्ने कुरा खेलाडीको व्यक्तिगत प्रदर्शन, कप्तानको रणनीति र टोलीको सन्तुलनमा निर्भर हुनेछ ।
जनकपुर बोल्ट्सको टोली
रिटेन गरिएका खेलाडी: अनिल कुमार शाह, ललित राजवंशी, मयन यादव, विकास आग्री, आदित्य महता
अक्सनबाट अनुबन्धित खेलाडी: तृतराज दास, अभिषेक तिवारी, विशाल पटेल, अमरसिंह रौटेला, रित गौतम, सन्तोष कार्की, आशुतोष पाण्डे, विशाल सुस्लिङ
विदेशी खेलाडी: हर्मीत सिंह, इफ्तिखार अहमद, जिमी नीशम, मोइन अली
मुख्य प्रशिक्षक: शिवनराइन चन्द्रपल
प्रशिक्षक: मनोज कटुवाल