पजियार मुनेश्वर सुखल कल्याणकारी ट्रष्टद्वारा आयोजित बृहत् खुला रक्तदान कार्यक्रम बिहीबार बाराको कोल्हबी नगरपालिका–६ ककडी प्रसौनास्थित श्री जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ ।
ट्रष्टको चौथो वार्षिक साधारण सभाको अवसरमा आयोजित उक्त कार्यक्रममा दुई महिलासहित ३० जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेमा २८ जना पुरुष र दुई जना महिला रहेका छन् । ‘रक्तदान नै जीवनदान हो’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रमको मुख्य उद्देश्य आवश्यकतामा रहेका बिरामीलाई रगत उपलब्ध गराउन सहयोग पुर्याउनु रहेको आयोजकले जनाएको छ ।
रक्तदानजस्तो मानवीय तथा सामाजिक कार्यले समाजमा सहयोग, सद्भाव र मानवताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
ट्रष्टको चौथो वार्षिक साधारण सभाको अवसरमा आयोजित यस कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सेवाप्रति संस्थाको प्रतिबद्धता र सक्रियतालाई समेत उजागर गरेको छ ।