महोत्तरीका किसान परम्परागत उखु खेती छाडेर व्यावसायिक केरा खेतीतर्फ आकर्षित हुन थालेका छन्। स्थानीय बजारमा केराको माग, नगद बिक्रीको सुविधा र आम्दानीको सम्भावना बढ्दै गएपछि गौशाला, भङ्गाहा, सोनमा र सम्सी क्षेत्रका किसानले उन्नत जातका केरा खेतीलाई प्राथमिकता दिन थालेका हुन् ।
गौशाला नगरपालिका–११ का रामभजन महतोले एक बिघा क्षेत्रफलमा आधुनिक प्रजातिका केरा खेती गरेका छन् । उखु खेतीमा लगानीअनुसारको प्रतिफल पाउन कठिन हुन थालेपछि उनले विकल्पका रूपमा केरा खेती रोजेका हुन्। महतोका अनुसार केराको घरी स्थानीय बजारमै बिक्री हुने र आवश्यक परेको समयमा नगद आम्दानी गर्न सकिने भएकाले किसानका लागि यो खेती आकर्षक बनेको छ ।
‘उखु खेतीमा पहिले जस्तो फाइदा रहेन। लगानीअनुसारको प्रतिफल पाउन नसकेपछि यहाँका किसानले विकल्पका रूपमा केरा खेती रोजेका हुन्,’ महतोले भने ।
सम्सी गाउँपालिका–५, गैढाभेटपुरका रामध्यान मण्डलले पनि ‘रोबेस्टा’ र ‘जी नाइन’ जातका केरा खेती गर्दै आएका छन् । उनका अनुसार यी जातका केरा साना बोटमै फल्ने, हावाहुरीले तुलनात्मक रूपमा कम ढाल्ने र रोपेको करिब नौ महिनामै उत्पादन दिन थाल्ने भएकाले किसानका लागि उपयोगी छन् ।
‘एक कट्ठामा करिब ८० वटा बोट लगाउन सकिन्छ। स्थानीय बजारमा उपभोक्ताको माग राम्रो भएकाले बिक्रीका लागि समस्या छैन,’ मण्डलले बताए ।
गौशाला नगरपालिका–४ का अजय कुशवाहा पनि पछिल्लो समय उखु खेतीभन्दा केरा खेतीमा बढी समय खर्चिरहेका छन् । राजनीतिलाई मुख्य पेसा बनाएका कुशवाहाले केरा खेतीबाट नगद आम्दानी गर्न सहज भएको बताए। उनका अनुसार उत्पादन बिक्रीका लागि बजार खोज्नुपर्ने समस्या कम छ र किसानले आफूलाई अनुकूल समयमा केरा बिक्री गर्न सक्छन् ।
गौशाला नगरपालिका–११, भरतपुरका देवनारायण यादवका अनुसार स्थानीय बजारमा केराको माग बढेसँगै गाउँका किसान केरा खेती विस्तार गर्न लागेका छन् । सुरुमा ११ कट्ठामा खेती गरेका यादवले अहिले यसको क्षेत्रफल बढाएका छन् ।
उन्नत जातका केराप्रति किसानको आकर्षण
महोत्तरीका गौशाला, भङ्गाहा, सोनमा र सम्सी क्षेत्रका किसानले परम्परागत मिर्चमान, झपरी, बत्तीसा र स्थानीय मालभोग जातका अतिरिक्त रोबेस्टा, जी नाइन, विलियम हाइब्रिड तथा उन्नत मालभोग जातका केरा लगाउन थालेका छन् ।
सानो बोटमा ठूलो घरी लाग्ने, धेरै काँगी फल्ने र स्वाद राम्रो हुने विशेषताका कारण रोबेस्टा र जी नाइन जातप्रति किसानको आकर्षण बढेको छ ।
गौशाला नगरपालिका–११, भरतपुरका रामएकवाल महतो पाँच वर्षदेखि व्यावसायिक केरा खेतीमा संलग्न छन्। उनले पाँच बिघा क्षेत्रफलमा जी नाइन, रोबेस्टा र उन्नत मालभोग जातका केरा लगाएका छन् ।
महतोका अनुसार केरा खेतीबाट खर्च कटाएर वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ। हाल एक कोसा केरा साढे चार रुपैयाँका दरले कारोबार भइरहेको र एउटा घरी तीनदेखि चार सय रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए ।
एक सय हेक्टरभन्दा बढी क्षेत्रफलमा खेती
कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार जिल्लाको गौशाला, भङ्गाहा र सम्सी क्षेत्रका विभिन्न स्थानमा एक सय हेक्टरभन्दा बढी क्षेत्रफलमा उन्नत जातका केरा खेती भइरहेको छ। स्थानीय बजारमा माग र बिक्रीको सम्भावना बढेसँगै यस खेतीको विस्तार भइरहेको छ।
कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरका बागवानी विकास अधिकृत अविरलकुमार महतो कुशवाहाका अनुसार तरकारीका रूपमा प्रयोग गरिने केराका लागि बत्तीसा र झपरी जात उपयुक्त मानिन्छन् भने फलका रूपमा स्थानीय मालभोग जात अझै लोकप्रिय छ ।
प्राविधिक सहयोगको अपेक्षा
केरा खेती विस्तार भइरहे पनि किसानले कृषि प्राविधिक सहयोग पर्याप्त रूपमा नपाएको गुनासो गरेका छन् । कृषि ज्ञान केन्द्र र स्थानीय तहका कृषि शाखा भए पनि नियमित अनुगमन, रोग व्यवस्थापन र प्राविधिक परामर्शमा कमजोरी रहेको उनीहरूको भनाइ छ ।
कृषि ज्ञान केन्द्रले भने किसानलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ ।
स्थानीय बजारमा माग, नगद बिक्रीको सुविधा र आम्दानीको सम्भावनाले महोत्तरीका किसानलाई केरा खेतीतर्फ आकर्षित गरिरहेको छ । यद्यपि, यसको दीर्घकालीन विस्तारका लागि उत्पादनसँगै रोग व्यवस्थापन, प्राविधिक परामर्श र बजारको दिगोपनमा समेत ध्यान दिनुपर्ने देखिन्छ ।