पर्साको वीरगंज महानगरपालिका–१५ प्रतिमा चोक निवासी सिमा गुप्ता कलवारले सडक विस्तारका क्रममा आफ्नो घरको पर्खालबाट इँटा चोरी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् ।
उनले वडा प्रहरी कार्यालय बिर्तामा दिएको निवेदनमा वीरगंज महानगरपालिका–६, मोहन मार्केट क्षेत्रमा बसोबास गर्ने ओमप्रकाश सोनार, जयप्रकाश सोनार र राधेश्याम बराललगायतका व्यक्तिमाथि आरोप लगाएकी छन् ।निवेदनअनुसार सडक विस्तारका क्रममा आफ्नो घरको पछाडिको पर्खालको केही भाग सडकमा नपरेको अवस्थामा पनि विपक्षीहरूले आपसी मिलेमतोमा पर्खाल भत्काई इँटा चोरी गरी लगेको उनको आरोप छ । गुप्ताले पटक–पटक सम्झाउँदा पनि आरोपितहरूले उल्टै गालीगलौज तथा हातपातको प्रयास गरेको दाबी गरेकी छन् ।
पर्खालबाट लगिएका इँटा हालसम्म फिर्ता नगरेको भन्दै उनले प्रहरीसमक्ष आरोपितहरूलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गर्न र चोरी भएको इँटाको क्षतिपूर्ति दिलाइदिन माग गरेकी छन् ।