मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ भने ६ जना घाइते भएका छन् ।
छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही फर्किंदै गरेका यात्रु सवार ईभी दुर्घटनामा परेको हो । प्रहरी नायब उपरीक्षक काफ्लेका अनुसार दुर्घटनामा परी ईभीका चालक सर्लाहीको कविलासी गाउँपालिका–८ निवासी ३० वर्षीय रविशङ्कर कुमार मण्डलको मृत्यु भएको छ ।
त्यस्तै, सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ निवासी २६ वर्षीय विकेश यादव (राय), ३५ वर्षीय गुड्डु यादव (राय), उनकी ३० वर्षीया श्रीमती गायत्री देवी यादव, २५ वर्षीय रामदुलार यादव (राय), २५ वर्षीय सुबोध यादव (राय), १५ वर्षीय रोहन यादव (राय), राकेश यादव (राय), छोटु भनिने रामप्रवेश यादव (राय) र सुदेश यादव (राय) को पनि दुर्घटनामा ज्यान गएको छ ।
यसैगरी, पुनम राय, अनु राय, दीपिका राय र शिक्षा रायको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादव (राय), ५ वर्षीय सक्षम कुमार यादव (राय), ३ वर्षीय सुजन यादव (राय), ३१ वर्षीय बेचु भनिने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदीप यादव (राय) घाइते भएका थिए ।
घाइते सबैलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचाररत घाइतेमध्ये मुकेश यादव, सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन् ।
गम्भीर घाइते भएका ३ वर्षीय सुजन यादव र १४ महिनाका सुदीप यादवलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल पठाइएको छ। त्यस्तै, ३१ वर्षीय देवेन्द्र रायलाई थप उपचारका लागि भरतपुरस्थित मनकामना अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिएका छन् ।
दुर्घटनालगत्तै उद्धार तथा खोजतलासका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । बागमती प्रदेश प्रहरी गण हेटौँडाबाट प्रहरी निरीक्षक बालकृष्ण पुडासैनीको नेतृत्वमा १३ जना र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मबाट ४ जनासहित १७ जना प्रहरी घटनास्थलमा खटिएका थिए ।
दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।