रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलावार बजारमा देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार सार्वजनिक स्थानमा आयोजित देउसी–भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक शिष्टाचारविपरीत अश्लील नृत्य गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा देवदह नगरपालिका–७ निवासी ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ निवासी २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन् ।
प्रहरीका अनुसार दुवै जनालाई गएराति १२ बजेर ५ मिनेटमा नियन्त्रणमा लिइएको हो । उनीहरूमाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको डीएसपी चन्दले जानकारी दिए ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय भैरहवाले परम्परागत देउसी–भैलो कार्यक्रमको नाममा अमर्यादित तथा अश्लील गतिविधि नगर्न आग्रह गरेको छ । मौलिक कला, संस्कृति र सामाजिक मर्यादाविपरीतका गतिविधि गर्ने जोकोहीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।