वीरगंजस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा १८ दिने शिशुको मृत्यु भएपछि पीडित परिवारले चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीका कारण बच्चाको ज्यान गएको आरोप लगाउँदै न्यायको माग गरेका छन् ।
शिशुको मृत्यु भएपछि अस्पताल परिसरमा आफन्तले आक्रोश व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।
मृतक शिशुकी आमाका अनुसार बुधबार दिउँसो करिब ४ बजे बच्चालाई दूध खुवाउन जाँदा उनको अवस्था गम्भीर देखिएको थियो । त्यसपछि चिकित्सकले जाँच गर्दा बच्चाको पल्स घटेर २० प्रतिशतमा पुगेको र रेड लाइटसमेत बलेको आफूलाई जानकारी दिइएको उनले बताइन्।
आमाले बच्चाको अवस्था बिग्रँदै गर्दा अस्पतालका चिकित्सक तथा नर्सहरू आवश्यक रूपमा उपस्थित नभएको र आफू पुग्दा मोबाइल चलाइरहेको अवस्थामा देखेको आरोप लगाएकी छन् ।
घटनापछि पीडित परिवारले अस्पताल प्रशासनसँग जवाफ माग्दै आफूहरूलाई न्याय चाहिएको बताएका छन् । शिशुकी आमाले आफूले गुमाएको बच्चाको न्याय पाउनुपर्ने माग गर्दै घटनाको जिम्मेवारी अस्पतालले लिनुपर्ने बताएकी छन् ।