श्रमिकसँग ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाएको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध अनुसन्धानका लागि चार दिन म्याद थप भएको छ ।
म्याद थप हुनेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव तथा श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी रहेका छन् ।
त्यस्तै, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङविरुद्ध पनि चार दिन म्याद थप भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।
सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतबाट बुधबार पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएपछि विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका सबैमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
श्रमिकसँग ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाइएको आरोपबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।