चितवनको राप्ती नगरपालिका–१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टबाट ४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
शुक्रबार बिहान करिब ९ बजे इलाका प्रहरी कार्यालय भण्डारा र अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको संयुक्त प्रहरी टोलीले हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कन्टेनर जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार NL 0107792 नम्बरको कन्टेनरको चालक सिट पछाडिको क्याबिनमा फल्स बटम (गोप्य तह) बनाएर गाँजा लुकाइएको अवस्थामा फेला परेको थियो । जाँचका क्रममा उक्त कन्टेनरबाट ४४३ किलो गाँजा बरामद गरिएको हो ।
गाँजासहित कन्टेनर चालक २४ वर्षीय सत्यम कुमार र सहचालक २० वर्षीय रौनक कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका दुवै भारतीय नागरिक र बरामद गाँजाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।