वीरगंज वीरगंजसहित बारा र पर्साका विभिन्न पालिकालाई जोडेर सञ्चालन गर्न लागिएको एकीकृत सार्वजनिक यातायात सेवा (नगर बस) यही मंसिरभित्र सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक सम्पूर्ण तयारी अघि बढाउने निर्णय गरिएको छ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको अन्तरपालिका बैठकले यस्तो निर्णय गरेको हो।
नगर बस सञ्चालनलाई दिगो र व्यवस्थित बनाउन चारवटा पालिकाको सहभागितामा १ करोड रुपैयाँको एकीकृत सञ्चालन कोष स्थापना गर्ने निर्णयसमेत बैठकले गरेको छ। कोषमा वीरगंज महानगरपालिकाले ४० लाख, जितपुरसिमरा उपमहानगरपालिकाले ३० लाख, कलैया उपमहानगरपालिकाले २५ लाख र परवानीपुर गाउँपालिकाले ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय भएको छ।
यसअघि गत कात्तिक १२ गते बसेको बैठकले यातायात सेवा सञ्चालनको सम्भाव्यता र आवश्यक तयारीका लागि चारवटै पालिकाका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरेको थियो। बिहीबारको बैठकले उक्त कार्यदलले तयार पारेको प्रतिवेदन आवश्यक संशोधनसहित पारित गरेको छ। साथै, नगर बस सञ्चालनसम्बन्धी कार्यविधि तयार पार्ने जिम्मेवारी पनि सोही कार्यदललाई दिइएको छ। कार्यदलले मंसिर ७ गतेभित्र कार्यविधि तयार गरी पेस गर्नुपर्नेछ।
वीरगंज महानगरपालिकाका राजस्व प्रशासन महाशाखा प्रमुख डा। सुनिल आचार्यको संयोजकत्वमा गठित कार्यदलमा जितपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशंकर प्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादव सदस्य रहेका छन्।
वीरगंजसहित बारा र पर्साका छवटा पालिकालाई जोडेर एकीकृत सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने योजनाअन्तर्गत यो पहल अघि बढाइएको हो। सहायक सडक तथा ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्दै अन्तरपालिका आवागमन सहज बनाउने यसको मुख्य उद्देश्य रहेको छ।
प्रस्तावित नगर बस सेवा सञ्चालनमा आएपछि मुख्य सडकबाट टाढा रहेका ग्रामीण क्षेत्रका नागरिकलाई बजार, अस्पताल, शैक्षिक संस्था तथा सरकारी कार्यालयसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। निजी सवारीमा निर्भर हुनुपर्ने र गन्तव्यमा पुग्न पटक–पटक सवारीसाधन परिवर्तन गर्नुपर्ने बाध्यता पनि कम हुने विश्वास गरिएको छ।
बैठकमा जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन दाहाल, कलैया उपमहानगरपालिकाका प्रतिनिधि अजय उप्रेती, वीरगंज महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख किर्तिराज सुवेदीलगायतको उपस्थिति रहेको थियो।