सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिष्ट्रार भगवान ठाकुरलाई बर्खास्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
विश्वविद्यालयको सिनेट बैठकले फाल्गुन २० गते उपकुलपति महतो र रजिष्ट्रार ठाकुरलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशले फाल्गुन २७ गते नयाँ उपकुलपतिका लागि विज्ञापन आह्वान गरेको थियो ।
उपकुलपति महतोले बर्खास्तीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले उक्त रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो । अदालतले बर्खास्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै दुवै पक्षलाई चैत १२ गते छलफलका लागि बोलाएको छ ।
तत्कालीन जसपा नेपाल नेतृत्वको सरकारले ०८१ मंसिर २१ गते उपकुलपतिमा डा. महतोलाई नियुक्त गरेको थियो । तर, सरकार परिवर्तनपछि विश्वविद्यालयको भवन शिलान्यासको विवादलाई लिएर उपकुलपति र रजिष्ट्रारलाई बर्खास्त गरिएको आरोप छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भवन शिलान्यास गर्दा जनमत पार्टीले विरोध जनाएको थियो, जसले विश्वविद्यालयको गतिविधिमा अवरोध पुर्याएको थियो ।
जसले गर्दा विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीहरूले झण्डै आठ महिनादेखि तलब, सुविधा पाएका छैनन् । विद्यार्थीको प्रवेश परीक्षा रोकिएको छ र भर्ना भएका विद्यार्थीहरूको भविष्य संकटमा परेको छ ।
सम्बन्धित समाचार
नियुक्ति प्रक्रिया मै त्रुटि र आर्थिक अपचलन गरेको आरोपमा, मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त