वीरगंजमा मोटरसाइकल चोरी गरी भाग्दै गरेको एक युवक पक्राउ परेका छन् ।
पर्साको वीरगंज महानगरपालिका–१६, लिंकरोडस्थित सडकखण्डमा पार्किङ गरिराखेको मोटरसाइकल चोरी गरी भाग्दै गरेका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मधेश प्रदेश ०३–०३५ प ७१७५ नम्बरको रातो–कालो रङ्गको २२० सीसीको पल्सर मोटरसाइकल वीरगञ्ज महानगरपालिका–२४, रामगढवाका ३० वर्षीय विकास कुमार कुशवाहाको नाममा दर्ता थियो ।
उक्त मोटरसाइकल सोमबार बिहान करिब ९ः३० बजे लक तोडी चोरी भएको थियो । घटनाबारे जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले लिंकरोडबाटै मोटरसाइकलसहित चोरीमा संलग्न बाराको निजगढ नगरपालिका–११ का २७ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिन सफल भएको हो ।
पक्राउ परेका चौधरीलाई अहिले प्रहरी हिरासतमा राखी चोरी कसूरसम्बन्धी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।