विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका ११ जना प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले २०८३ कात्तिक १६ गते विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चेक अनादर मुद्दामा अदालतबाट २ वर्ष कैद सजाय तोकिएका जिराभवानी गाउँपालिका–३ निवासी करिब ५० वर्षीय पारसनाथ दास थारू पनि रहेका छन् । उनी साविक जितपुर गाविसका बासिन्दा हुन् ।
प्रहरीका अनुसार थारूसहित विभिन्न मुद्दामा अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका अन्य १० जना प्रतिवादीलाई समेत पक्राउ गरिएको हो ।
पक्राउ परेका सबै ११ जनालाई फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा दाखिला गराइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।
अदालतको फैसला कार्यान्वयन गराउने तथा फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउने अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।