विराटनगरको फिलचोकस्थित एक घरबाट फ्रिज चोरी गरेर भाग्ने क्रममा गेटमाथि अड्किएका एक व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ । घरभित्रबाट फ्रिज निकालेर गेट नाघ्न खोज्दा उनी गेटमाथि जडान गरिएको तीखो फलामे किलामा अड्किएका थिए ।
घटना सोमबार रातिको हो। चोरीको प्रयास गर्ने व्यक्ति सुनसरीको दुहबीमा बस्दै आएका विकास झा रहेको प्रहरीले जनाएको छ । सामान डेलिभरी गर्ने कम्पनी ‘उपया’को कार्यालय भवन राति खाली रहेको मौका छोपेर उनी चोरी गर्न प्रवेश गरेको बताइएको छ ।
झाले कार्यालयभित्रबाट एक्लै फ्रिज बोकेर गेटसम्म ल्याएका थिए। फ्रिजलाई गेटमाथिबाट बाहिर निकालेर आफू पनि भाग्न खोज्दा उनको लुगा फलामे किलामा अड्किएको थियो । त्यसपछि उनी गेटबाट ओर्लन नसकेर रातभर त्यही अवस्थामा अलपत्र परेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख कविद कटुवालका अनुसार बिहान उज्यालो भएपछि बाटो हिँड्ने स्थानीयले उनलाई गेटमा अड्किएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए ।
‘बिहान उज्यालो भएपछि बाटो हिँड्नेले देखेर प्रहरीलाई खबर गरे र प्रहरी पुगेर उनको उद्धार गरिएको हो,’ कटुवालले बताए। उनी राति कति बजेदेखि गेटमा अड्किएका थिए भन्ने खुल्न नसकेको पनि उनले जानकारी दिए ।
घाइते अवस्थामा रहेका झा लागूऔषधको नशामा समेत रहेको प्रहरीले जनाएको छ। उद्धारपछि उनलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीका अनुसार उपचारपछि उनीमाथि चोरीको प्रयाससम्बन्धी थप अनुसन्धान प्रक्रिया अघि बढाइनेछ ।