पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपटीस्थित पकडीटोलमा रहेको एक चिरान तथा फर्निचर उद्योगबाट काठ बरामद गर्ने विषयलाई लिएर सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयबीच झडप भएको छ ।
सशस्त्र प्रहरी बलको बीओपी जिराभवानी, प्रहरी चौकी महादेवपटी बलुवा, सेढवा सबडिभिजन वन कार्यालय बसन्तपुर तथा गादीमाई साझेदारी वन व्यवस्थापन समूहबाट खटिएको संयुक्त टोलीले मुकेश साहद्वारा सञ्चालित फर्निचर उद्योगबाट झ्यालका ८ थान काठ नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भई झडप भएको हो ।
झडपका क्रममा केही प्रहरी तथा वनका हेरालुहरू सामान्य घाइते भएको गादीमाई साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष सहुरम राउत गदीले जानकारी दिएका छन् ।
सञ्चालक पक्षको दाबी : काठ खरिदका कानुनी कागजात सुरक्षित छन्
घटनाबारे फर्निचर उद्योग सञ्चालक मुकेश साहका भाइ जाटासंकर साहले बरामद गर्न खोजिएका काठ भैरहवा र बुटवलबाट खरिद गरी ल्याइएको दाबी गरेका छन् ।
उनका अनुसार काठ खरिदसँग सम्बन्धित सम्पूर्ण कानुनी कागजात उद्योग सञ्चालक पक्षसँग सुरक्षित छन् । संयुक्त टोलीले कागजात माग गरी जाँच गर्नुको सट्टा सिधै काठ जफत गर्न खोजेको उनीहरूको आरोप छ ।
साथै, नियन्त्रणमा लिन खोजिएका ८ थान झ्यालका काठ बिक्रीका लागि नभई आफ्नै घरको प्रयोजनका लागि तयार गरिएको सञ्चालक पक्षको दाबी छ ।
प्रहरीद्वारा काठ नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइयो
संयुक्त टोलीले घटनास्थलबाट झ्यालका ८ थान काठ नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
घटनाको वास्तविकता, काठको स्रोत तथा खरिदसम्बन्धी कागजातको वैधताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठ वैध रूपमा खरिद गरिएको हो वा होइन भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने देखिएको छ ।