पारिवारिक विवादका कारण श्रीमतीको हत्या भएको छ ।
झापाको कनकाई नगरपालिका–५ नारायणदल चोकमा डेरामा बस्दै आएका ३९ वर्षीय लालबहादुर सार्कीले खुकुरी प्रहार गरी ४० वर्षीया श्रीमती मनिषा मग्रातीको हत्या गरेका हुन् ।
स्थानीय प्रहरीका अनुसार पूर्वपतिसँग बोलचाल गरेको विषयमा भएको विवादले मध्यराति उग्र रूप लिँदा लालबहादुरले खुकुरी प्रहार गरेका थिए । श्रीमतीको हत्या गरेपछि उनले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेका थिए। गम्भीर घाइते लालबहादुरलाई बिर्तामोडस्थित बीएन्डसी अस्पताल भर्ना गरिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मनिषाले पूर्वपतिसँग फोनमा कुरा गरेको निहुँमा उनीहरूबीच विवाद भएको थियो । विवादपछि खुकुरी प्रहारको घटना घटेको प्रहरी स्रोतले जनाएको छ ।
घाइते लालबहादुरका दाजु सुरेन्द्र सार्कीका अनुसार लालबहादुर अस्पतालमा उपचाररत भए पनि रकम अभावका कारण उपचार सुरु हुन सकेको छैन ।
ताप्लेजुङको सिनाम घर भएका सार्की दम्पती दुई वर्षदेखि झापाको कनकाई नगरपालिकामा डेरा गरी बस्दै आएका थिए। उनीहरू ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।