लागूऔषध कारोबारको घटना सार्वजनिक भएपछि डोल्पा जिल्ला कारागारका ड्युटी इन्चार्ज परिवर्तन गरिएको तीन दिनमै आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएका छन् ।
नयाँ ड्युटी इन्चार्ज खटाइएको तीन दिनमै शनिबार कैदीबन्दी फरार भएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन्। घटनाले कारागारको सुरक्षा निगरानी र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार फरार कैदीबन्दीले कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्डका संरचना भत्काएर सुरुङ खनेका थिए । सुरुङ खन्ने क्रममा बीचमा सेफ्टी ट्यांकी परेपछि त्यसलाई छल्दै सुरुङ निर्माण गरिएको पाइएको प्रमुख जिल्ला अधिकारी हमालले बताइन् ।
उनका अनुसार सुरुङको लम्बाइ करिब साढे तीन मिटर र गहिराइ चारदेखि पाँच फिट रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
कैदीबन्दीले कारागारको सुरक्षा व्यवस्था र त्यसमा रहेका कमजोरी पहिचान गरी योजनाबद्ध रूपमा फरार भएको हुन सक्ने हमालको भनाइ छ ।
‘सुरक्षा व्यवस्थाको योजना राम्रो भए पनि कार्यान्वयन र तत्काल प्रतिक्रिया जनाउन केही समय लागेको देखिन्छ,’ उनले भनिन्, ‘यसलाई सुरक्षाकर्मीको लापरबाही मात्रै नभई समग्र सुरक्षा व्यवस्थापन र निगरानीको कमजोरीका रूपमा पनि हेर्नुपर्छ ।’
घटनापछि कारागारमा खटिएका सुरक्षाकर्मीको ड्युटी र जिम्मेवारीबारे समीक्षा सुरु गरिएको छ । कारागारमा जडान गरिएका सीसीटीभी क्यामेराको अवस्थासमेत निरीक्षण भइरहेको छ। पुराना क्यामेरा निकालेर परीक्षण गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिइन् ।
कारागारको सुरक्षा व्यवस्थामा देखिएका कमजोरीबारे समेत छानबिन भइरहेको उनले बताइन् ।
ड्युटी इन्चार्ज परिवर्तन गरिएको तीन दिनमै आठ जना कैदीबन्दी सुरुङ खनेर फरार हुनुले कारागारभित्रको सुरक्षा निगरानी, नियमित गस्ती र जिम्मेवार निकायको कार्यक्षमतामाथि थप प्रश्न खडा गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।