जेनजी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय कारागारबाट फरार भएका लागुऔषध मुद्दाका एक कैदीलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–१४ निवासी ३८ वर्षीय झरेन्द्र ज्यू ठकुरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा शुक्रबार उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार ठकुरी खैरो हेरोइन १५८ ग्राम ८०० मिलिग्रामसहित पक्राउ परेको मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् ।
उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अदालतको फैसलापछि उनी काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका थिए ।
तर, २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर उनी फरार भएका थिए ।
प्रहरीले पक्राउ परेका ठकुरीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार कार्यालय सिरहामा दाखिला गरिएको जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीको खोजी तथा पक्राउ अभियानअन्तर्गत प्रहरीले उनलाई पक्राउ गरेको हो ।