हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलमा आफ्नै देवरको खुकुरी प्रहारबाट ३५ वर्षीया महिलाको हत्या भएको छ ।
बुधबार राति आफ्नै घरको दोस्रो तलामा मृत भेटिएकी गुडिया दासको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार घटनामा संलग्न गुडियाका कान्छा देवर २३ वर्षीय राहुल भनिने रमेश दास रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनलाई प्रहरीले हातमा खुकुरी बोकेकै अवस्थामा पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार राहुलले आफ्ना माइला दाजु २८ वर्षीय रुपेश दासमाथि पनि खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।
पक्राउ परेका राहुलले आफ्नी भाउजु गुडिया दासको हत्या र दाजु रूपेशमाथि प्रहार गरेको स्वीकार गरेका छन् । दास परिवार हेटौंडामा फलफूलको व्यवसाय गर्दै आएको थियो। घरायसी विवादका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
मृतक गुडियाका श्रीमान् रोशन दास वैदेशिक रोजगारका लागि कतारमा छन्। उनीहरूका तीन जना सन्तान रहेको बताइएको छ ।
घाइते रुपेशको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।