बाराका सुरक्षा निकायका प्रमुखहरूले अवैध गतिविधि नियन्त्रणका लागि जिल्लाका सीमावर्ती नाकाहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बसन्त अधिकारीको नेतृत्वमा रहेको सुरक्षा टोलीले सिम्रौनगढ नगरपालिका–८ स्थित बसवरिया नाकाको पहिलो चरणमा अनुगमन गरेको हो ।
प्रजिअ अधिकारीका अनुसार सीमा क्षेत्रमा सुरक्षा अवस्था, आवागमन र अवैध क्रियाकलापको रोकथामलाई थप प्रभावकारी बनाउन अनुगमन गरिएको बताए । सीमावर्ती क्षेत्रमा आपराधिक गतिविधि नियन्त्रण, अवैध ओसारपसार रोकथाम, र सुरक्षाको अवस्थाबारे स्थलगत निरीक्षण गर्दै टोलीले स्थानिय सुरक्षाकर्मीलाई थप सतर्क रहन निर्देशन दिएको छ ।
अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङ, सशस्त्र प्रहरी बल, गण नं. १२ उत्तर झिटकैयाका सशस्त्र प्रहरी उपरीक्षक ( (एसपी) खुमबहादुर केसीलगायत सुरक्षाकर्मी सहभागी थिए ।जिल्लाको सबै प्रमुख नाकामा अनुगमन गरिने प्रशासनले जनाएको छ ।
पहिलो चरणको अनुगमन बसवरिया नाकाबाट सुरु भएको हो भने अन्य सीमा क्षेत्रमा पनि क्रमशः निरीक्षण हुने जनाइएको छ ।