मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी खोलामा सोमबार पौडी खेल्न गएका तीन बालकको डुबेर मृत्यु भएको छ ।
काभ्रे घर भएका दुई बालक र सिस्नेरी डोडारेका एक बालकको सिस्नेरी बजार नजिकको खोलामा पौडी खेल्ने क्रममा ज्यान गएको हो । मृत्यु हुने बालकहरूमा १४ वर्षीय सुशान्त आचार्य, १४ वर्षीय प्रमेश घोरसाइने र ११ वर्षीय प्रमाध घोरसाइने रहेका छन् । घोरसाइने दाजुभाइ मामा घर आएका बेला मामाका छोरा सुशान्त आचार्यसँग खोलामा पौडी खेल्न गएका थिए ।
ईलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक ललिता ढकाल ले पौडी खेल्ने क्रममा तीनै बालक डुबेको पुष्टि गरेकी छिन् । स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिए पनि बालकहरूको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु भएका बालकहरूको शव स्वस्थ्य परीक्षणका लागि काठमाडौं पठाइएको ढकालले जानकारी दिइन् ।