नेपाल क्रिकेट फाउन्डेशन विराटनगरद्वारा आयोजित चौथो इक्वालिटी कप टी-२० महिला क्रिकेट प्रतियोगिता अन्तर्गत सप्तरीले लगातार दोस्रो जित हात पारेको छ ।
मंगलबार भएको खेलमा साक्षी यादवको उत्कृष्ट ब्याटिङ प्रदर्शनका कारण सप्तरीले सिरहालाई ८ रनले पराजित गर्दै महत्त्वपूर्ण जित दर्ता गर्यो ।
सप्तरी महिला टिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै १९.६ ओभरमा ९ विकेट गुमाएर १०२ रनको लक्ष्य प्रस्तुत गर्यो । सप्तरीले दिएको १०३ रनको लक्ष्य पछ्याउने क्रममा सिरहा १९.६ ओभरमा ९४ रनमै अलआउट हुन पुग्यो । सिरहाका लागि अनुराधा चौधरीले १९ रन र प्रतीक्षा खड्काले ११ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंक पार गर्न सकेनन् ।
सप्तरीका बलर अपेक्षा यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए ।
त्यस्तै, सुस्मिता यादव र साक्षी यादवले समान २/२ विकेट लिएर टोलीको जित सुनिश्चित गरे । सप्तरीका लागि साक्षी यादवले ५७ रनको उत्कृष्ट पारी खेलेर टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याइन् । अपेक्षा यादवले ११ रनको योगदान दिइन् । बलिङतर्फ सिरहाका अनुराधा चौधरीले ४ विकेट, सरस्वती चौधरीले ३ विकेट, मिना महतो र प्रतीक्षा खड्काले समान १/१ विकेट लिए ।
उत्कृष्ट प्रदर्शन गरेकी सप्तरीकी साक्षी यादव प्लेयर अफ द म्याच घोषित भइन् ।