एम्बुलेन्स प्रयोग गरी तस्करी गर्न खोजिएको ठूलो मात्रामा लागुऔषध ट्रामाडोलसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
शनिबार राति करिब २ बजे ललितपुरको बागमती गाउँपालिका–३ छपेली भट्टेडाँडा प्रहरी टोलीले शंका लागेर जाँच गर्दा लागुऔषधसहित एम्बुलेन्स भित्र रहेका चारजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिहरूमा २० वर्षीय समिर आलम, ३३ वर्षीय मुन्ना अन्सारी, ४५ वर्षीया नोर्जान खातुन र फरार भएपश्चात पुनः पक्राउ परेका एम्बुलेन्स चालक मोहम्मद उमर रहेका छन् ।
उनीहरूले बिरामीको नाटक गर्दै भारतको बिहार राज्यबाट काठमाडौं भित्र्याउने उद्देश्यले ठूलो परिमाणको ट्रामाडोल ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका भारतीय नागरिकहरूले उक्त ट्रामाडोल नेपाली नागरिकका लागि ल्याएको स्विकारे पनि ती नेपाली व्यक्ति भने फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार एम्बुलेन्सको चाबी लिएर भागेका चालक उमरलाई पनि शनिबार बिहान घटनास्थलभन्दा करिब १ किलोमिटर पूर्वबाट पक्राउ गरिएको हो । घटनाबारे थप जानकारी दिन शनिबार पत्रकार सम्मेलनसमेत आयोजना गरिएको थियो ।
प्रहरी चौकी भट्टेडाँडाबाट प्रहरी सहायक निरीक्षक श्रीराम सिंहको कमाण्डमा खटिएको टोलीले भारतीय नम्बर प्लेट रहेको बिआर ०५ पिए ०४२१ नम्बरको एम्बुलेन्समा लुकाइएको ९३ हजार ८ सय क्याप्सुल ट्रामाडोल बरामद गरेको थियो । ट्रामाडोलको यस्तो ठूलो परिमाणको तस्करी हुँदै गरेको घटनाले सीमावर्ती क्षेत्रमार्फत लागुऔषध कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेको आशंका गरिएको छ ।
पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।