काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लाग्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सवै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिवन्ध लाग्ने बताएका हुन् ।
सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एकमहिनाको म्याद सकिन केहि दिन बाकि रहेको भन्दै उनले फेसबुक लगाएतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे । उनले सामाजिक सञ्जाल सम्बन्धी कानून कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभइ नियमन गर्नका लागि ल्याइएको बताए ।
त्यस्तै मन्त्री गुरुङले चैत्र १५ गते काठमाडौँमा राजावादीले गरेको आन्दोलन प्रतिगामी र संविधान विरोधी आन्दोलन भएको बताए । शान्तिपूर्ण भेला हुन पाउने अधिकार, संविधान बिपरितको कार्यका लागि प्रयोग गर्दा हिंसात्मक घटना भएको भन्दै उनले त्यसमा संलग्न सवैलाई कारवाही हुने बताए । उनले मुलुकमा राजतन्त्रको कुनै गुञ्जायस नरहेको जिकिर गरे ।
उनले प्रविधिको दुरुपयोग गर्दै मुलुक, राजनीतिक दलका साथै जनतालाई कमजोर बनाउने काम भइरहेको भन्दै सरकार गम्भीर भएर यसलाइ रोक्न लागिपरेको बताए ।