काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संयुक्त राष्ट्र सङ्घीय स्थायी मञ्च (UNPFII) को २४औँ सत्रमा सहभागी हुन शुक्रवार अमेरिका प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आगामी अप्रिल २१ देखि मे २ तारिखसम्म (वैशाख ८ देखि १९) हुने ‘ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेशन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यू (UNPFII)’ कार्यक्रममा सहभागी हुन गुप्ता अमेरिका गएका हुन् ।
मन्त्री गुप्ताको स्वदेश फर्किने कार्यतालिका वैशाख १९ गतेको लागि तय गरिएको छ ।
UNPFII विश्वभरका आदिवासी जनजातिका अधिकार तथा सरोकारसम्बन्धी विषयमा काम गर्ने संयुक्त राष्ट्रअन्तर्गतको एक प्रभावशाली निकाय हो । यस मञ्चले आदिवासी जनजातिसँग सम्बन्धित मुद्दाहरूमा अन्तरराष्ट्रियस्तरमा समन्वय र सुझाव दिने उद्देश्य राखेको छ।
यसपटकको सत्रमा आर्थिक तथा सामाजिक विकास, सांस्कृतिक संरक्षण, वातावरणीय विषय, शिक्षा, स्वास्थ्य र मानवअधिकारजस्ता विषयहरूमा गहिरो छलफल हुने कार्यक्रम तय भएको छ ।
उक्त फोरम संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को सल्लाहकार निकायको रूपमा पनि कार्यरत रहेको छ ।