पछिल्लो एक वर्षको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना अभिलेख गरिएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।
महासङ्घअन्तर्गत सञ्चार अनुगमन इकाइको तथ्यांकअनुसार सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्मको अवधिमा भएका ती घटनामा १५१ जना पत्रकार र पाँच सञ्चार संस्था प्रभावित भएका छन् । महासङ्घका महासचिव रामप्रसाद दाहालका अनुसार सो अवधिमा दुई जना पत्रकारको हत्या भएको छ भने पेशागत असुरक्षासम्बन्धी १६ वटा घटना समेत अभिलेख गरिएका छन् । पत्रकारहरूमाथि धम्की, धरपकड, दुव्र्यवहार, भौतिक आक्रमण र मानसिक यातनाका घटनालाई महासङ्घले लोकतान्त्रिक मूल्य–मान्यतामाथिको गम्भीर प्रहारको रूपमा व्याख्या गरेको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार जारी गरिएको प्रतिवेदनमा महासङ्घले पत्रकार सुरेश रजकको हत्या, सञ्चारमाध्यममाथि आगजनी र आक्रमण, शिक्षक आन्दोलनका क्रममा पत्रकार सविना कार्कीमाथि भएको ज्यादती, र घरानका पत्रकार गोपाल दाहालमाथि स्थानीय सरकार प्रमुखबाट भएको धम्की तथा मानसिक यातनालाई गम्भीर घटनाका रूपमा औँल्याएको छ । यस्ता घटनाका कारण पत्रकारहरू विस्थापित हुनुपरेकोमा महासङ्घले दुःख व्यक्त गरेको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवस हरेक वर्ष मे ३ मा मनाइन्छ । सन् १९९१ मा नामिबियाको विन्डहोकमा पत्रकारहरूको सम्मेलनबाट प्रेस स्वतन्त्रताको पक्षमा विन्डहोक घोषणा जारी गरिएपछि युनेस्कोले सन् १९९३ देखि यो दिवस मनाउन सुरु गरेको हो। त्यसयता संयुक्त राष्ट्रसङ्घको अनुमोदनपछि विश्वभर उक्त दिवस मनाइँदै आएको छ ।
महासङ्घले मुलुकमा पत्रकारको सुरक्षामा सरकार र सम्बन्धित निकायले चासो नदिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।
प्रेस स्वतन्त्रताको रक्षा लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै महासङ्घले स्वतन्त्र, जिम्मेवार र सुरक्षित पत्रकारिता वातावरण निर्माणका लागि तत्कालीन कदम चाल्न माग गरेको छ ।