काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले देशभर रासायनिक मलको अभाव रहेको स्वीकार गरेका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले सरकार अब प्राङ्गारिक तथा जैविक मलको प्रयोगलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने नीति लिइरहेको बताए ।
मुलुकलाई वार्षिक ११ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ तर हाल जम्मा चार लाख टन मात्रै उपलब्ध रहेको अधिकारीले जानकारी गराए । उनले भने, ‘हाम्रो आवश्यकता ११ लाख टन हो, तर अहिले बजारमा चार लाख टन मात्र मल छ । मलको अभावले बजारमा हाहाकार छ । मन्त्रीले मल दिँदैन भन्ने आलोचना हामीले दैनिक जसो सुनिरहेकै छौँ ।’
मन्त्री अधिकारीले खाद्य सुरक्षाका लागि प्राङ्गारिक र जैविक मलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । साथै, कृषि उत्पादनमा सिँचाइ, प्रशोधन तथा भण्डारणका लागि आवश्यक विद्युत् सुविधा किसानले पाउन नसकेको उनका गुनासो थिए । ‘विद्युत् शुल्क उच्च भएकोले किसान मारमा परेका छन् । जबसम्म विद्युतमा सहुलियत दिन सकिन्न, कृषिमा उल्लेख्य प्रगति सम्भव छैन,’ उनले भने ।
विद्युत् आपूर्तिलाई सहज बनाउन अर्थ मन्त्रालयसँगका केही समस्याले चुनौती सिर्जना गरिरहेको पनि उनले बताए । कुखुराको मासु, अण्डा र मकै उत्पादनमा देश आत्मनिर्भर बन्न थालेको दाबी गर्दै मन्त्री अधिकारीले कच्चा पदार्थ भने अझै पनि आयात गर्नुपर्ने बाध्यता रहेको बताए । साथै, सङ्घ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वयबिना कृषि क्षेत्रको सुधार असम्भव हुने उनका भनाइ थियो ।
जङ्गली बँदेलको कारण किसानलाई समस्या भइरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले त्यसको समाधानका लागि सरकारले गम्भीर भएर काम गरिरहेको जानकारी दिए ।