नेपालबाट अवैध रूपमा भारत प्रवेश गर्न खोजेका चार जना शंकास्पद चिनियाँ नागरिकहरूलाई सीमा सुरक्षा बल (SSB) ले रक्सौल मैत्री पुलबाट पक्राउ गरेको छ ।
पछिल्लो समयमा भारत–नेपाल सीमा क्षेत्रमा सुरक्षा कडाइ गरिएका बेला उनीहरू पक्राउमा परेका हुन् ।
भारतको सुरक्षा निकायले दिएको जानकारीअनुसार, ती चार चिनियाँ नागरिकहरू नेपालको राजधानी काठमाडौंमा एक सातासम्म बसेपछि रक्सौल नाका हुँदै भारत प्रवेश गर्न खोजेका थिए । ‘अपरेशन सिन्दूर’ पछि जारी गरिएको रेड अलर्ट अन्तर्गतको कडाइ का क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका व्यक्तिहरूले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेको सुरक्षा स्रोतले बताएको छ । उनीहरू हिन्दी, नेपाली, अङ्ग्रेजी र चिनियाँ भाषामा बोल्दै आफूलाई फरक–फरक पहिचान दिइरहेका छन् । यसले उनीहरूको गतिविधि थप शंकास्पद बनाएको छ ।
सुरक्षा निकायका अनुसार ती व्यक्तिहरूको सम्बन्ध पाकिस्तानमा बसोबास गर्ने एक व्यक्तिसँग रहेको प्रस्ट भएको छ । कुनै "केटा"सँग सम्पर्कमा रहेको तथ्य भेटिएको स्रोतको दाबी छ । उनीहरू नेपालबाट किन भारत छिर्न खोजिरहेका थिए भन्ने विषयमा उनीहरूले अहिलेसम्म प्रस्ट जवाफ दिएका छैनन् ।
चारै जनालाई हाल गोप्य सुरक्षास्थलमा राखेर सोधपुछ भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन् । उनीहरू आतंकवाद, गुप्तचर गतिविधि वा अन्य आपराधिक उद्देश्यका लागि नेपाल प्रयोग गर्दै भारत छिर्न खोजेका हुन सक्ने आशंका गरिएको छ। सुरक्षाकर्मीहरूले उनीहरूका विद्युतीय सामग्री, फोन, तथा कागजातहरूको विश्लेषण गरिरहेको जनाइएको छ ।
‘अपरेशन सिन्दूर’ पछिको सुरक्षाको कडाइलाई ध्यानमा राख्दै रक्सौल नाकामा परिचयपत्रको कडाइका साथ जाँच भइरहेको छ । सुरक्षा संयन्त्रले नेपालबाट आउने–जाने सबै यात्रुहरूको निगरानी बढाएको छ। पछिल्ला दिनमा यस्तो गिरोहले भारत छिर्न खोजेको घटनामा यो पहिलो पटक चिनियाँ नागरिक संलग्न देखिएको हो ।