भारतको दिल्लीस्थित एक अदालतले चर्चित युट्युबर ध्रुव राठीविरुद्ध सन् २०१८ को मानहानिसम्बन्धी मुद्दामा गैरजमानती पक्राउ पुर्जी जारी गरेको छ ।
न्यायिक मजिस्ट्रेट अनाम रइस खानले सोमबार राठीविरुद्ध पक्राउ पुर्जी जारी गरेकी हुन् ।
विकास संस्कृत्यायन उर्फ विकास पाण्डेले राठीको युट्युब च्यानलमा प्रकाशित एउटा भिडिओलाई लिएर सन् २०१८ मा मानहानिको उजुरी दिएका थिए। सोही मुद्दामा अदालतले पटक–पटक उपस्थित हुन आदेश दिए पनि राठी उपस्थित नभएपछि पक्राउ पुर्जी जारी गरिएको हो ।
यसअघि अक्टोबर १७ मा अदालतले राठीविरुद्ध जमानती पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि अक्टोबर ३१ मा पुनः नयाँ जमानती पक्राउ पुर्जी जारी गरिएको थियो ।
राठीको ठेगानामा सूचना बुझाउन गएको अदालतको कर्मचारीले घरमा ताला लागेको जानकारी दिएपछि अदालतले हरियाणाको गुरुग्रामस्थित उनको ठेगानामा पुनः समन पठाएको थियो ।
राठीका कानुन व्यवसायीले उनी सामान्यतया अस्ट्रियामा बस्ने गरेको र दिल्लीमा आयोजित ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को प्रदर्शनमा सहभागी हुन भारत आएको अदालतलाई जानकारी गराएका थिए ।
यस मुद्दामा अदालतले सन् २०१९ को जुलाईमै पहिलोपटक राठीलाई उपस्थित हुन समन जारी गरेको थियो। तर, उनी अदालतमा उपस्थित नभएपछि पटक–पटक पक्राउ पुर्जी जारी हुँदै आएको छ ।
अदालतले मुद्दाको थप सुनुवाइका लागि आगामी डिसेम्बर ३ को मिति तोकेको छ। यद्यपि, गैरजमानती पक्राउ पुर्जी जारी गर्नुको विस्तृत आधारसहितको आदेश आउन बाँकी रहेको छ ।