भारत–पाकिस्तानबीचको बढ्दो तनावले नयाँ रूप लिँदै गएको छ । पछिल्लो घटनाक्रममा पाकिस्तानले भारतको जम्मु–कश्मीर क्षेत्रअन्तर्गत पर्ने जम्मु शहरमा ड्रोनमार्फत आक्रमण गरेको पुष्टि भारतीय सञ्चारमाध्यमहरूले गरेका छन् ।
‘द इन्डियन एक्सप्रेस’ को अनुसार, आक्रमणपछि जम्मु शहरमा पूर्ण ब्ल्याकआउट भएको छ। स्थानीय बासिन्दाहरूले रातको समयमा आकाशमा मिसाइल जस्तो देखिने वस्तुहरू उडेको र त्यसपछि ठूलो आवाजसहित केही वस्तुहरू जमिनमा खसेको देखेको बताएका छन्। घटनास्थल नजिकका क्षेत्रमा साइरन बजेको आवाज पनि पटक–पटक सुन्न आएको छ ।
भारतीय समाचार संस्था ‘आजतक’ ले भारतीय वायुसेनाले तैनाथ गरेको हवाई सुरक्षा प्रणालीले पाकिस्तानको एफ–१६ लडाकु विमानलाई खसालिएको पुष्टि गरेको छ । यो हमला 'अपरेशन सिन्दूर' को जवाफमा पाकिस्तानले योजनाबद्ध रूपमा गरेको आक्रमण भएको अनुमान गरिएको छ ।
भारतीय सेनाले हालसालै पाकिस्तानमा आतंकवादी प्रशिक्षण शिविरहरू विरुद्ध सर्जिकल स्ट्राइक सञ्चालन गर्दै दर्जनौं आतङ्ककारी आधार शिविर ध्वस्त पारेको थियो । त्यसपछि पाकिस्तानले विभिन्न सीमा नजिकका भारतीय शहरहरूमा हमला गर्न खोजिरहेको सूचनाहरू भारतीय गुप्तचर स्रोतहरूले दिइसकेका थिए ।
यस घटनापछि भारतले सीमामा सुरक्षा सतर्कता उच्च बनाएको छ भने जम्मु–कश्मीर र आसपासका सबै सामरिक महत्वका स्थानहरूमा उच्च सतर्कता जारी गरिएको छ । भारतीय गृह मन्त्रालयले नागरिकहरूलाई संयमित रहन आग्रह गर्दै आवश्यक अवस्थामा मात्र बाहिर ननिस्कन निर्देशन दिएको छ ।
यता अन्तर्राष्ट्रिय समुदायले पनि दुई देशबीचको चुलिँदो तनावलाई चासोपूर्वक नियालिरहेको छ । संयुक्त राष्ट्रसंघ, अमेरिका, र युरोपेली युनियनले संयम अपनाउन दुवै पक्षलाई आग्रह गरेका छन् ।