भारतले पाकिस्तानविरुद्धको पछिल्लो आक्रमणमा प्रयोग गरेको भनिएको इसरायली ‘हारोप’ ड्रोनबारे विस्तृत विवरण सार्वजनिक भएको छ । यो ड्रोन इसराइल एरोस्पेस इन्डस्ट्रिज (आइएआइ)ले निर्माण गरेको हो, जसमा मिसाइल प्रणाली पनि समावेश गरिएको छ ।
‘हारोप’ ड्रोनलाई ‘सुसाइड ड्रोन’ पनि भनिन्छ, किनभने यसले लक्ष्यमा आफै ठोक्किएर विस्फोट गराउने क्षमता राख्छ । टाइम्स अफ इन्डियाका अनुसार, हारोप ड्रोनमा इलेक्ट्रो–अप्टिक सिकर प्रणाली जडान गरिएको छ, जसले ९ घण्टासम्म आकाशमा रही लक्ष्य पहिचान गर्न सक्दछ र विभिन्न कोणबाट आक्रमण गर्न सक्छ ।
यसमा रहेको उन्नत प्रविधिले मोबाइल सवारी साधन, नौसैनिक प्लेटफर्म तथा क्यानिस्टर प्रणालीबाट प्रक्षेपण गर्न मिल्ने बनाइएको छ । आइएआइका अनुसार, यो ड्रोनले कमाण्ड पोस्ट, ट्यांक, एयर डिफेन्स प्रणालीजस्ता सैन्य संरचनाहरूमाथि आक्रमण गर्न सक्षम छ ।
ड्रोनले स्याटेलाइट जामिङको असर नलिने भएकाले, चुनौतीपूर्ण भूभागमा पनि सफलतापूर्वक लक्ष्यमा पुग्न सक्छ । यो २३ किलोसम्मको उच्च विस्फोटक पेलोड बोकेर लक्ष्यमाथि आक्रमण गर्न सक्षम छ, जसले रडार, मिसाइल लन्चर र सैन्य सवारीसाधनलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्दछ । हारोपको प्रयोगले दक्षिण एशियाली क्षेत्रको सुरक्षामा नयाँ चुनौती थपिएको देखिन्छ ।