काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शुक्रबार बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटका क्रममा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमण, त्यसपछि भारत–पाकिस्तानबीच उत्पन्न तनाव र पछिल्लो घटनाक्रमबारे राजदूत श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार राजदूत श्रीवास्तवले उक्त घटनामा भारतले जबाफी कारबाही गरे पनि जेट हमला भने नभएको स्पष्ट पारेका थिए। उनले यस घटनासम्बन्धी नेपाल सरकारले बिहीबार सार्वजनिक गरेको वक्तव्यप्रति धन्यवादसमेत दिएका थिए ।
भेटमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिको पक्षधर रहेको र सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडान रहेको बताए। उनले नेपालको भूमि कुनै पनि द्वन्द्वरत शक्तिले छिमेकी राष्ट्रविरुद्ध प्रयोग गर्न नपाउने बताएका थिए ।