सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा शल्यक्रियाबाट शिशु जन्माएकी एक सुत्केरी महिलाको मृत्यु भएको छ ।
मिर्चैया नगरपालिका–११, सीतापुरकी ३० वर्षीया रामकाशी गछस यादवको शनिबार बिहान मृत्यु भएको हो। परिवारजनले चिकित्सक र अस्पतालको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । शुक्रबार बिहान व्यथा लागेपछि रामकाशीलाई मिर्चैया–६ स्थित सरकारी अस्पतालमा लगिएको थियो । तर, त्यहाँकी मेडिकल सुपरिटेन्डेन्ट डा. सारिका गोइतले नशा विशेषज्ञ नभएको भन्दै उनलाई निजी बर्धमान अस्पतालमा रेफर गरिन् ।
बर्धमान अस्पतालमा शल्यचिकित्सक डा. तेजशंकर यादवले शल्यक्रिया गरी शिशुको जन्म गराए पनि शल्यक्रियापछि अत्यधिक रक्तस्राव हुँदा रामकाशीको अवस्था गम्भीर भएको थियो । उनका बुबा महेश्वर यादवका अनुसार समयमै रिफर नगरिएको र उपचारमा ढिलाइ भएकै कारण छोरीको ज्यान गएको हो ।
“हामीले बारम्बार रिफर गर्न अनुरोध गर्यौं तर अस्पतालले आश्वासन मात्रै दिइरह्यो,” उनले भने, “अन्ततः बिहान ३ बजे मात्र विराटनगरस्थित न्युरो अस्पताल रिफर गरियो, तर बिहान ५ बजे पुग्दा छोरीको मृत्यु भइसकेको थियो ।”
सुत्केरीको मृत्युको विरोधमा आक्रोशित स्थानीयवासी र आफन्तहरूले शवसहित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरे । इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्दकुमार साहको टोलीले हस्तक्षेप गरी चिकित्सक डा. तेजशंकर यादवलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिरेन्द्र कुमार पासवानले घटनाको अनुसन्धान भइरहेको र शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको जानकारी दिए ।
यसअघि पनि डा. यादव विवादमा मुछिँदै आएका छन् । उनीमाथि महोत्तरीकी रिंकु कुमारी सिंहको पेटमा गज छाडिएको अभियोगमा नेपाल मेडिकल काउन्सिलमा मुद्दा चलिरहेको छ भने औरही–४ की राधा दासको नवजात शिशुको मृत्यु प्रकरणमा पनि संलग्नताको आरोप लागेको छ ।
घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै पीडित परिवारले न्यायको माग गरेका छन् ।