काठमाडौं । सवारी चालक अनुमतिपत्र समयमै प्रिन्ट गरेर वितरण गर्न असमर्थ यातायात व्यवस्था विभागको अत्यावश्यक लाइसेन्स प्रिन्टिङ मेसिनसमेत बिग्रिएको छ ।
यसले गर्दा केही दिनदेखि भइरहेका अत्यावश्यक सवारी चालक अनुमति पत्र छपाइसमेत पूर्णरूपमा बन्द भएको विभागले जनाएको छ ।
२५ वैशाखदेखि प्रिन्टिङ प्रणालीमा समस्या आए पनि विभागले आइतबार मात्रै सूचना जारी गरी यो समस्या सार्वजनिक गरेको हो। यद्यपि, उक्त समस्या कहिले समाधान हुन्छ भन्ने बारे विभाग अझै अनिश्चित छ ।
दैनिक हजारौँको संख्यामा सवारी चालक अनुमति पत्र पर्खिरहेका नागरिकहरूलाई वर्षौँसम्म लाइसेन्स नदिएको विभागले अध्ययन तथा रोजगारीका लागि विदेश जाने, शान्ति सेनामा सहभागी हुने नेपाली सेना तथा प्रहरी, र गैरआवासीय नेपालीलाई अत्यावश्यक लाइसेन्स प्रिन्ट गर्दै आएको थियो । अहिले प्रिन्टिङ मेसिन बिग्रिएपछि ती सबै कार्य समेत पूर्ण रूपमा बन्द भएका छन् ।